एफडीए द्वारा ओब्स्ट्रक्टिभ स्लीप एप्निया उपचारको लागी जिप बाउन्ड स्वीकृत


अमेरिका को फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले मोटोपन भएका वयस्कहरूमा मध्यम देखि गम्भीर स्तरको ओब्स्ट्रक्टिभ स्लीप एप्निया (ओएसए) को उपचारका लागि पहिलो पटक जिप बाउन्ड (Zepbound) नामक औषधिलाई स्वीकृति दिएको छ।

अध्ययनहरूले देखाएका छन् कि कम क्यालोरीयुक्त आहार र शारीरिक व्यायामको साथमा जिप बाउन्ड  प्रयोग गर्दा ओएसए का लक्षणहरूमा सुधार आउँछ, मुख्यतः तौल घटाउन सहयोग गर्ने भएकाले ।

ओएसए  सास प्रश्वास सम्बन्धी रोग हो, जसमा सुत्ने क्रममा माथिल्लो श्वास नली आंशिक वा पूर्ण रूपमा अवरुद्ध हुन्छ । यसले सास फेर्न कठिन हुने, सास रोकिने, र कहिले काहीँ अचानक ब्युँझिने समस्या निम्त्याउँछ।

ओएसए ले अक्सिजनको प्रवाह घटाउन, मुटुको लय बिगार्न र स्वास्थ्यमा हानि पुर्याउन सक्छ । यसको सामान्य लक्षणहरूमा घुर्नु , थकान अनुभव गर्ने, दिनभर निन्द्रा लाग्ने र निद्राको गुणस्तर बिग्रने समावेश छन, जसलाई प्रायः बेवास्ता गरिन्छ । मोटोपन भएका व्यक्तिहरूमा यो समस्या धेरै देखिन्छ, किनकि घाँटीको अतिरिक्त तौलले श्वास नलीमा दबाब दिन सक्छ।

जिप बाउन्ड (जेनेरिक नाम: टिर्जेपाटाइड) शरीरमा सुईको मद्दतले हालिने (इन्जेक्टेबल) औषधि हो, जसले तौल घटाउन मद्दत गरी ओएसए को उपचार गर्छ। यो औषधिले आन्द्रामा रहेका जिएलपी-१ (glucagon-like peptide 1) र जिआईपी (glucose-dependent insulinotropic polypeptide)  नामक प्रोटिन सक्रिय गरेर भोक कम गर्छ र खानाको मात्रा घटाउँछ । यो दुई रिसेप्टर सक्रिय गर्ने प्रक्रिया जिएलपी-१ मात्रलाई लक्षित गर्ने औषधिहरू भन्दा तौल व्यवस्थापनमा प्रभावकारी हुन सक्छ।

यो औषधि एलि लिली एन्ड कम्पनीलाई स्वीकृत गरिएको हो, जुन ४६९ वयस्क (जसलाई  टाइप-२ मधुमेह थिएन) मा गरिएको दुई क्लिनिकल परीक्षणको आधारमा अनुमोदित भएको हो । पहिलो अध्ययनमा ओएसए का लागि मानक उपचार पिएपी (positive airway pressure) प्रयोग गरिरहेका बिरामीहरू समावेश थिए, भने दोस्रो अध्ययनमा पिएपी नचलाएका बिरामीहरू थिए ।

दुबै समूहमा ५२ साता सम्म साप्ताहिक रूपमा जिपबाउन्ड वा प्लेसीबो दिइयो। परिणामले देखायो कि जिपबाउन्ड ले सुत्ने क्रममा सास अवरोध (एप्निया र हाइपोप्निया) उल्लेखनीय रूपमा घटायो। जिपबाउन्ड  प्रयोग गरेका धेरै बिरामीहरूमा लक्षणहरू सुधारिए वा समाप्त भए साथै तौल घटे, जसले ओएसए को लक्षणमा सुधार ल्याएको देखियो।

एफडीए का अनुसार जिपबाउन्ड का साइड इफेक्टहरूमा वाकवाकी, बान्ता, पेट दुख्ने, अपच, कब्जियत, पखाला, इंजेक्शन साइटमा प्रतिक्रिया, थकान, एलर्जी प्रतिक्रिया (ज्वरो र छालामा बिमिरा) र कपाल झर्ने समस्या समावेश छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!