अनुसन्धान
कपालमा हेयर डाई र स्ट्रेटनरको उपयोगले स्तन क्यान्सर
हरेक पाँच देखि आठ सातामा स्ट्रेटनर प्रयोग गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम करिब ३० प्रतिशत ले बढ्न सक्छ।नियमित रुपमा हेयर डाई र स्ट्रेटनरको प्रयोग गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम झन्डै ९ प्रतिशतले बढ्छ।
इन्टरनेसनल जर्नल अफ क्यान्सरमा प्रकाशित एक अध्ययन अनुसार पर्मानेन्ट हेयर डाइ र स्ट्रेटनरको प्रयोगले महिलाहरूमा स्तन क्यान्सरको जोखिम बढ्न सक्ने देखाएको छ ।
यो अध्ययन अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) ले गरेको हो । अध्ययनले कपाल रङ्ने र स्ट्रेट गर्ने उत्पादनको प्रयोग लाई लिएर चिन्ता समेत प्रकट गरेको छ ।
अनुसन्धानका अनुसार यी उत्पादनहरूमा पाइने केही रसायनहरू (हेयर डाइ र स्ट्रेटनर) ले शरीरको हर्मोनलाई असर गर्छ, जसलाई इन्डोक्राइन डिसरप्टर भनिन्छ । यी रसायनहरूले शरीरमा हर्मोनको सन्तुलनमा गडबडी गरेर दीर्घकालीन रूपमा स्तन क्यान्सर जस्तो गम्भीर रोगहरू को कारण बन्न सक्छ । यी उत्पादनहरू नियमित रूपमा प्रयोग गर्ने महिलाहरूको लागि यो अध्ययन विशेष गरी महत्वपूर्ण छ । एनआईएच ले गरेको अध्ययनमा ४६ हजार ७ सय ९ महिलाको डाटा विश्लेषण गरिएको थियो ।
यो अनुसन्धानले नियमित रुपमा हेयर डाई र स्ट्रेटनरको प्रयोग गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम झन्डै ९ प्रतिशतले बढेको देखाएको छ । यो जोखिम अफ्रिकी अमेरिकी महिलाहरूमा अझ बढी पाइयो ।
विशेष गरी, अफ्रिकी अमेरिकी महिलाहरूले हरेक पाँच देखि आठ हप्तामा स्थायी रङ प्रयोग गर्दा यो जोखिम ६० प्रतिशत ले बढ्ने देखिएको छ, जबकी ह्वाइट महिलाहरूमा यो वृद्धि केवल ८ प्रतिशत मा सीमित थियो। सेमी–परमानेन्ट वा अस्थायी रङ प्रयोग गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिममा ठूलो वृद्धि देखिएन ।’
‘कपाल रङ्ने कलर र क्यान्सरको सम्भावित सम्बन्ध बारे लामो समय देखि अनुसन्धान हुँदै आएको छ, तर नतिजाहरू एकरूप छैनन्’, अनुसन्धान टोलीकी प्रमुख एलेक्जेन्ड्रा ह्वाइट भन्छिन्–‘हाम्रो अध्ययनले स्थायी रङको प्रयोग सँग स्तन क्यान्सरको जोखिम बढी देखाएको छ, विशेष गरी अफ्रिकी अमेरिकी महिलाहरूमा ।’
रासायनिक स्ट्रेटनरको प्रयोग र स्तन क्यान्सरको सम्बन्ध पनि अनुसन्धानमा एउटा रोचक तथ्य पत्ता लाग्यो । ह्वाइट र उनका सह कर्मीहरूले पत्ता लगाए कि हरेक पाँच देखि आठ सातामा स्ट्रेटनर प्रयोग गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम करिब ३० प्रतिशत ले बढ्न सक्छ ।
रसायन रहित कपालको हेरचाह अपनाउनु पर्छ
कपालमा केमिकलको प्रयोग जति कम हुन्छ त्यति राम्रो हुने विज्ञहरू बताउँछन । यदि कपाल डाई वा स्ट्रेटनर जस्ता उत्पादनहरू प्रयोग गर्न आवश्यक छ भने, एमोनिया मुक्त र कम रासायन भएको उत्पादनहरूलाई प्राथमिकता दिनुपर्छ ।
अध्ययनहरूले देखाएको छ कि रासायन आधारित उत्पादनहरूको लगातार र अत्यधिक प्रयोगले कपाललाई हानी पुर्याउँछ । यसका साथै कपाल स्वस्थ राख्नका लागि सन्तुलित आहार, पर्याप्त निन्द्रा र नियमित व्यायाम पनि आवश्यक हुन्छ । कपालको नियमित हेरचाहको लागि प्राकृतिक तेल र घरेलु उपचारहरू पनि प्रयोग गर्न सकिन्छ ।
सौन्दर्य उत्पादनहरू छनौट गर्दा सावधानी अपनाऔं
अध्ययनको नतिजाले देखाउछ कि बाहिरी रूपलाई मात्र ध्यान नदिइ आन्तरिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनु पर्छ । सौन्दर्य उत्पादनहरू छनोट गर्दा, तिनिहरूमा उपयोग गरिएको कम्पोनेन्ट, संरचना र छालामा प्रभाव पार्ने बारे समेत सचेत हुनुपर्छ । हामीले हाम्रो शरीरमा के लगाउँदै छौं भन्ने बारे जान्नु धेरै महत्वपुर्ण छ । यी सावधानी अपनाएर छाला र कपाललाई स्वस्थ राख्न मात्रै नभई गम्भीर स्वास्थ्य सम्बन्धी समस्याबाट पनि बच्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस