राम्रो छाला रोग विशेषज्ञ नै सौन्दर्य विज्ञ हुन्छन /डरमेटोलोजिस्टको वार्षिक सम्मेलन सुरु

काठमाडौँ – छिमेकी मुलुक भारतका वरिष्ठ छालारोग विशेषज्ञ तथा भारतका लेजर डर्माटोलोजीका अग्रणी प्रा. डा. गणेश पाई ले राम्रो कस्मेटोलोजिस्ट (सौन्दर्य विशेषज्ञ) बन्नको लागि राम्रो छाला विशेषज्ञ हुनु पर्ने बताए । उनले सौन्दर्य विज्ञान, छालारोग विज्ञानको उपज रहेको समेत उल्लेख गरे ।
छाला विज्ञानलाई उन्नत गर्दै, सक्रिय रोकथाम, उन्नत हस्तक्षेप को मूल नारा सहित सोसाइटी अफ डर्मेटोलजिस्ट, भेनरोलजिस्ट एन्ड लेप्रोलोजिस्ट अफ नेपाल (सडभेलन) को राजधानी काठमाडौँमा शुक्रबार सुरु भएको दुई दिने १९ औँ राष्ट्रिय सम्मेलन लाई सम्बोधन गर्दै डा. पाइले कुरा बताएका हुन् ।
‘म सधैँ भन्छु। यदि तपाईं राम्रो सौन्दर्य विशेषज्ञ बन्न चाहना राख्नुहुन्छ भने तपाईं राम्रो छाला विशेषज्ञ हुनैपर्छ‘, भारतमा ४७ वर्षदेखि छालारोग उपचारमा संलग्न डा. पाई ले सम्मेलन का सहभागीहरू डरमेटोलोजिस्टहरूलाई सम्बोधन गर्दै भने – ‘डर्मेटोलोजी र कस्मेटलोजीमा लिङ्क छ।’
नेपालको करिब ३ करोड जनसङ्ख्यालाई औल्याउँदै डा. पाई ले भने – ‘कुल जनसङ्ख्याको करिब १०% सौन्दर्य सम्बन्धी हेरचाहको खर्च उठाउन सक्छन् । तर यसको अर्थ यो होइन कि तपाईँ बाँकी रहेका ९० प्रतिशतलाई इग्नोर (ध्यान नदिनु) गर्नुस्।‘
उनले मुलुकमा कोही पनि उपेक्षित नहुने अवस्था कायम गर्नको लागि छाला रोग विशेषज्ञहरू लाई अझै डरमेटोलोजीमा केन्द्रित गर्नुपर्ने बताए ।
नेपालका छाला रोग विशेषज्ञ, यौन रोग विशेषज्ञ तथा कुष्ठरोग विशेषज्ञ समाजको वार्षिक राष्ट्रिय सम्मेलनमा उन्नत छालारोग तथा सौन्दर्य विज्ञान सम्बन्धी व्यावहारिक कार्यशाला समेत आयोजित गरिएको आयोजक समितिका अध्यक्ष प्रा. डा. धर्मेन्द्र कर्ण ले बताए ।
डा. कर्णले कार्यशालाले डर्मेटोलोजिस्टहरूलाई सीप अभिवृद्धिको लागि उत्कृष्ट अवसर प्रदान गर्ने बताए ।
उनले सम्मेलनमा सहभागीहरुलेले उन्नत त्वचा विज्ञान र सौन्दर्य प्रक्रियाको व्यावहारिक ज्ञान प्राप्त गर्ने समेत उल्लेख गरे ।
सम्मेलनमा ३ सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता छ । यस्तै १० जना भन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय वक्ताहरू समेत सहभागी छन्।
प्रतिक्रिया दिनुहोस