अनुसन्धान
खुट्टा न्यानो नहुने र गह्रौं महसुस हुने समस्या ‘भेरिकोज वेन्स’ को संकेत हुन सक्छ

यदि तपाईंका खुट्टा सधैं चिसो रहन्छन् (cold hypersensitivity) र गह्रौं महसुस (heavy legs) हुन्छ भने यो ‘भेरिकोज वेन्स’ (varicose veins) नामक समस्या हुन सक्छ। यो विषयमा गरिएको एक अध्ययन ‘ओपन हार्ट जर्नल’ मा प्रकाशित भएको छ।
सामान्य भाषामा यसलाई नसा सुन्निने, फुल्ने समस्या पनि भनिन्छ। भेरिकोज वेन्स हुँदा खुट्टाका नसाहरू बाहिरबाट नै फुलिरहेको स्पष्ट देखिन्छ।
यो समस्या तब उत्पन्न हुन्छ जब खुट्टामा रहेका नसाहरूले रक्त संचार ठीक सँग गर्न सक्दैनन्। यस्तो समस्या प्रायः दुई प्रतिशत देखि ३० प्रतिशत सम्म वयस्कहरूमा देखिन्छ।
तर, यो समस्या महिलाहरूमा बढी देखिने अध्ययनले देखाएको छ। यसका प्रमुख लक्षणहरूमा खुट्टा गह्रौं हुने, दुख्ने, खुट्टा पोल्ने वा चिलाउने, बेचैनी महसुस हुने, सुन्निने, मांशपेशी आकस्मिक खिचिने (क्र्याम्प) र खुट्टामा अल्सर (घाउ) देखा पर्ने जस्ता समस्या पर्न सक्छन्।
ताइवानको चुंग शान मेडिकल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चिसो बढी महसुस हुनु पनि भेरिकोज वेन्सको महत्त्वपूर्ण लक्षण हुन सक्ने बताएका छन्।
अनुसन्धान अनुसार, शरीरमा चिसोपन प्रति बढी संवेदनशील हुने व्यक्तिहरूमा भेरिकोज वेन्स हुने सम्भावना ४९ प्रतिशत देखि ८९ प्रतिशत सम्म रहेको देखिएको छ । त्यसै गरी, भेरिकोज वेन्स भएका व्यक्तिहरू प्रायः खुट्टा गह्रौं (heavy legs) महसुस गर्ने समस्या भोग्ने गर्छन्।
अध्ययनमा उल्लेख गरे अनुसार व्यक्तिको पेशा पनि यो समस्याको विकासमा प्रभाव पार्ने एक कारक मानिएको छ। लामो समय उभिएर काम गर्नु पर्ने पेशामा संलग्न व्यक्तिहरूमा भेरिकोज वेन्सको जोखिम ४५ प्रतिशतले बढी देखिएको छ।
यस अध्ययनमा ३० देखि ७० वर्ष उमेर समूहका ८ हजार ७ सय ८२ जना सहभागीहरू समावेश गरिएका थिए। ती सबै मध्यम देखि गम्भीर भेरिकोज वेन्सका बिरामी थिए। अनुसन्धानकर्ताहरूले उनीहरूलाई खुट्टामा चिसो महसुस हुनु र गह्रौंपनको अनुभव सम्बन्धी प्रश्नहरू सोधेका थिए।
प्रतिक्रिया दिनुहोस