अनुसन्धान
वायु प्रदूषणले स्मरणशक्ति, भावना नियन्त्रण र निर्णय क्षमता कमजोर बनाउने

बाल्यकाल केवल शारीरिक विकासको समय होइन, मानसिक र संज्ञानात्मक क्षमताहरू निर्माण गर्ने अत्यन्त संवेदनशील चरण हो । यस अवधिमा बालबालिकाले सोच्ने, बुझ्ने, अनुभूति गर्ने र प्रतिक्रिया जनाउने आधारभूत क्षमताहरू विकास गर्छन । तर, एउटा अन्तर्राष्ट्रिय अनुसन्धानले वायु प्रदूषणलाई यो विकासको प्रक्रियामा गम्भीर खतरा भनेर चेतावनी दिएको छ।
‘एनवायरनमेन्ट इन्टरनेशनल’ जर्नलमा प्रकाशित बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थको नेतृत्वमा सम्पन्न यो अध्ययनले देखाएको छ – यदि कुनै बच्चा जन्मे देखि १२ वर्षको उमेर सम्म वायु प्रदूषणको उच्च स्तरमा लगातार सम्पर्कमा रहने हो भने मस्तिष्क भित्र रहेका महत्वपूर्ण भागहरू बीचको सञ्चार संयोजन – जसलाई फंक्शनल कनेक्टिविटी भनिन्छ – कमजोर हुन सक्छ ।
फंक्शनल कनेक्टिविटी मस्तिष्कका विभिन्न भागहरूलाई आपसमा जोड्ने प्रणाली हो, जसले सोच्ने, भावना अभिव्यक्त गर्ने र निर्णय लिने क्षमता निर्माण गर्न सहयोग गर्छ।
अध्ययनले सूक्ष्म कणहरू – पीएम २.५ र पीएम १०, साथै नाइट्रोजन डाइअक्साइड र नाइट्रोजन अक्साइड्स जस्ता प्रदूषकहरूलाई बालबालिकाको मस्तिष्क विकासका लागि सबै भन्दा खतरनाक फेला पारेको छ ।
यो निष्कर्ष नेदरल्यान्डको रोटरड्याम सहरमा सञ्चालित ‘जनरेशन आर’ नामक परियोजनामा सहभागी ३ हजार ६ सय २६ बालबालिका माथि गरिएको अनुसन्धानमा आधारित हो ।
अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि प्रदूषणको असरले मस्तिष्कको अमिग्डाला (भावना बुझ्ने भाग), हिप्पोक्याम्पस (स्मृति र सिकाइसँग सम्बन्धित भाग) र कॉडेट न्युक्लियस (मोटर फंक्सन र निर्णय प्रक्रिया सँग जोडिएको भाग) बीचको सम्बन्ध उल्लेखनीय रूपमा कमजोर बनाउँछ।
विशेष गरी, जन्म पछिका पहिलो तीन वर्ष सम्म वायु प्रदूषणको प्रभावमा परेका बालबालिकामा भावना र संज्ञानात्मक नियन्त्रण सँग सम्बन्धित मस्तिष्क भागहरूको संयोजन सबैभन्दा बढी प्रभावित भएको पाइयो ।
ब्रेन स्क्यान अगाडि नै प्रदूषणको असर देखियो
अध्ययनले यो पनि देखाएको छ कि ब्रेन स्क्यान हुनु एक वर्ष अघि सम्म पीएम १० को उच्च स्तरमा रहेका बालबालिकामा ‘सैलेन्स नेटवर्क’ र ‘मेडियल-पैराइटल नेटवर्क’ बीचको सम्बन्ध समेत कमजोर भएको थियो । यी नेटवर्कहरूले वरपरको वातावरण बुझ्न, आत्म चिन्तन गर्न र सचेतनाको स्तर कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्छन ।
प्रतिक्रिया दिनुहोस