अनुसन्धान

लक्षण देखिनु अघि नै पार्किन्सन्स रोग पत्ता लगाउने रगत परीक्षण


इजरायली अनुसन्धानकर्ताहरूले पार्किन्सन्स रोग पत्ता लगाउन आरएनए आधारित नयाँ रगत परीक्षण विधि विकास गरेका छन्। यो प्रविधिले रोगका लक्षणहरू देखिनुअघि नै यसको पहिचान गर्न सक्छ।

सामान्यत: पार्किन्सन्स रोग तब मात्र पत्ता लाग्छ जब मस्तिष्कमा गम्भीर क्षति भइसकेको हुन्छ र अधिकांश सम्बन्धित न्यूरोनहरू नष्ट भइसकेका हुन्छन्। यस्तो अवस्थामा रोगको प्रभावकारी उपचार कठिन हुन्छ।

यो अनुसन्धान ‘नेचर एजिङ’ पत्रिकामा प्रकाशित गरिएको छ। अध्ययन अनुसार, यो परीक्षणले रगतमा रहेका विशिष्ट आरएनए अंशहरू मापन गर्छ। मुख्यतः यसले दुईवटा बायोमार्करमा ध्यान केन्द्रित गर्छ,  पहिलो, पार्किन्सन्स रोगीहरूमा जम्मा हुने दोहोरिएको आरएनए अनुक्रम र दोस्रो, रोग बढ्दै जाँदा घट्दै जाने माइटोकन्ड्रियल आरएनए। यी दुईको अनुपात मापन गरेर रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सकिन्छ।

येरुशलम स्थित हिब्रू विश्वविद्यालयका मोलिकुलर न्युरो साइन्सका प्राध्यापक हर्मोना सोरेकका अनुसार, यो खोज पार्किन्सन्स रोगप्रति हाम्रो बुझाइमा महत्वपूर्ण प्रगति हो र प्रारम्भिक पहिचानका लागि सरल, कम आक्रामक रगत परीक्षण विधि प्रदान गर्छ।

टीआरएफ नामक प्रविधिमा आधारित यो परीक्षणले रोग सुरु हुनुअघि शरीरमा हुने आणविक परिवर्तनहरू पहिचान गर्न सक्षम छ। परीक्षणले पूर्व-लक्षण अवस्थाका पार्किन्सन्स रोगीहरूलाई स्वस्थ व्यक्तिबाट ८६ प्रतिशत सटीकतासाथ छुट्याउन सफल भएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!