अनुसन्धान

मोबाइलको प्रयोगले किशोरीहरूमा निद्रा सम्बन्धी समस्या


एउटा नयाँ अध्ययनमा देखिएको छ कि स्क्रिनको अत्यधिक प्रयोगले व्यक्तिको निद्रामा असर पार्न सक्छ, जसले डिप्रेशन (उदासी रोग) सम्बन्धी लक्षणहरू देखिन सक्ने जोखिम बढाउँछ। यसको सबैभन्दा ठूलो प्रभाव किशोरीहरूमा देखिएको छ।

धेरै अध्ययनहरूले मोबाइल सहित अन्य स्क्रिनहरूमा धेरै समय बिताउँदा निद्राको गुणस्तरमा कमी आउन सक्ने र मानसिक स्वास्थ्यमा असर पर्ने चेतावनी दिएका छन्।

यसलाई डिप्रेशन जस्ता समस्याको वृद्धि सँग पनि जोडिएको छ। तर, स्वीडेनको क्यारोलिन्स्का इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले भनेका छन् कि निद्रा सम्बन्धी समस्या र डिप्रेशन प्रायः एक साथ देखिन सक्छन्।

यो अध्ययन प्लोस ग्लोबल पब्लिक हेल्थ मा प्रकाशित भएको हो। यसमा अनुसन्धान टोलीले १२ देखि १६ वर्ष उमेर समूहका ४,८१० स्विडिस विद्यार्थीहरूलाई एक वर्षसम्म ट्र्याक गरेका थिए। त्यस अवधिमा उनीहरूको निद्राको गुणस्तर, समय, डिप्रेशन सम्बन्धी लक्षणहरू र स्क्रिन प्रयोगको तथ्याङ्क सङ्कलन गरिएको थियो।

अध्ययनमा पत्ता लाग्यो कि अत्यधिक स्क्रिन प्रयोगले तीन महिना भित्रै निद्रामा असर गर्‍यो, जसले निद्राको समय र गुणस्तर दुवैमा कमी ल्यायो। साथै, अनुसन्धानकर्ता हरूले पत्ता लगाए कि केटाहरूमा स्क्रिन टाइमले १२ महिना पछि डिप्रेशनको जोखिम सीधै बढाएको थियो भने केटीहरूमा डिप्रेशनको असर निद्राको गडबडीका कारण भएको हो। केटीहरूमा स्क्रिन टाइम र डिप्रेशन बीचको सम्बन्धको लगभग ३८ प्रतिशत देखि ५७ प्रतिशत हिस्सा निद्रासँग जोडिएको पाइयो।

अनुसन्धानकर्ताहरूले भने कि स्क्रिनमा धेरै समय बिताउने केटाहरूले पनि निद्रामा बाधा महसुस गरेका थिए, तर त्यसको पछि डिप्रेशनसँग कुनै बलियो सम्बन्ध देखिएको थिएन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!