पक्षघात उपचारका लागि निःशुल्क औषधी वितरण सुरु

काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत माघ ३ गते निःशुल्क घोषणा गरेको पक्षघात उपचारका लागि प्रयोग हुने महँगो औषधी वितरण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
स्वास्थ्य मन्त्रालयमा बिहीबार आयोजित विशेष समारोह मा अमेरिकी परोपकारी संस्था डाइरेक्ट रिलिफले प्रदान गरेको औषधी वन हार्ट वर्ल्ड वाइडका प्रतिनिधिहरूले मन्त्री पौडेललाई हस्तान्तरण गरे।
जीवनरक्षक औषधी निःशुल्क उपलब्ध गराइँदै
कार्यक्रममा मन्त्री पौडेलले पक्षघातबाट पीडित बिरामीहरूको ज्यान जोगाउन समयमै उचित उपचार आवश्यक हुने तर आर्थिक अभावका कारण धेरैले जीवन रक्षक औषधी प्राप्त गर्न नसकेको बताए।
‘औषधीको लागत अत्यधिक महँगो भएकाले सरकारका लागि सबै बिरामीलाई किनेर उपलब्ध गराउनु चुनौतीपूर्ण थियो,’ पौडेलले भने, – ‘त्यसैले विभिन्न अन्तर्राष्ट्रिय सहयोग स्रोतहरूको समन्वय मार्फत औषधी ल्याउने पहल गर्यौं र अहिले सफल भएका छौं।’
स्वास्थ्य मन्त्रालयका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पताल हुँदै बिरामीहरूलाई निःशुल्क औषधी वितरण गरिनेछ।
व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार औषधीको बजार मूल्य करिब दुई लाख रुपैयाँ पर्ने भएकाले आर्थिक अभावका कारण उपचारबाट वञ्चित बिरामीहरूलाई यो कार्यक्रमले ठूलो राहत पुग्नेछ।
समयमै उपचार नपाउँदा मृत्यु दर उच्च
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार रक्तचाप र मुटु सम्बन्धी समस्या भएका व्यक्तिहरूमा पक्षघातको जोखिम बढी रहन्छ। समयमा औषधी नपाउँदा मृत्यु दर बढ्दै गएकाले सरकार यसलाई न्यूनीकरण गर्न प्रतिबद्ध रहेको मन्त्री पौडेलले बताए।
पाँच वर्षसम्म निःशुल्क औषधी उपलब्ध गराइने
नेपाल सरकारले गरेको पहललाई डाइरेक्ट रिलिफले साथ दिँदै आगामी पाँच वर्षसम्म आवश्यक औषधी निःशुल्क आपूर्ति गर्ने प्रतिबद्धता जनाएको छ। सरकारको माग अनुसार च्यारिटी संस्थाले औषधी उपलब्ध गराउनेछ।
प्रतिक्रिया दिनुहोस