अनुसन्धान

महिलाहरूमा डिमेन्सिया को कारण बन्न सक्छ मेनोपज


मेनोपज अथार्त रजोनिवृत्तिको समयमा धेरै शारीरिक समस्याहरूको सामना गरिरहेका महिला हरूलाई डिमेन्सियाको खतरा बढी हुन्छ । अनुमान अनुसार करिब ८० प्रतिशत महिलाहरूलाई मेनोपज सँग सम्बन्धित समस्या हुन्छ र जति धेरै लक्षणहरू देखिन्छन् त्यति नै डिमेन्सियाको जोखिम बढ्छ । क्यानडाको क्यालगरी विश्वविद्यालयद्वारा गरिएको अनुसन्धानमा यो कुरा पत्ता लागेको हो ।

अनुसन्धान कर्ताहरूले ८९६ मेनोपज भएका महिलाहरूको तथ्याङ्क विश्लेषण गरे । यो स्वास्थ्य सम्बन्धी समस्याहरूलाई लिएर गरिएको अनलाइन अनुसन्धान थियो । महिलाहरूले अनुसन्धान कर्ताहरूलाई आफ्ना पेरिमेनोपज सम्बन्धी लक्षणहरूको जानकारी दिएका थिए । उनीहरूको संज्ञानात्मक क्षमतालाई ‘एभ्रिडे कग्निशन स्केल’ र  ‘माइल्ड बिहेभियरल इम्पेयरमेन्ट चेकलिस्ट’ को प्रयोग गरेर मापन गरिएको थियो । जसमा उच्च स्तरले गम्भीर लक्षणहरूको सङ्केत दिएको थियो । जस महिलाहरूमा मेनोपजका लक्षण बढी थिए, तिनिहरूको सञ्ज्ञानात्मक परीक्षणको नतिजा उच्च थियो, जुन स्वास्थ्यका दृष्टिले राम्रो होइन ।

क्यालगरी विश्वविद्यालयको रिपोर्ट 

क्यालगरी विश्वविद्यालयको यो रिपोर्ट ‘पब्लिक लाइब्रेरी अफ साइन्स वन जर्नल’ मा प्रकाशित भएको थियो । निष्कर्ष अनुसार, मेनोपज सँग सम्बन्धित लक्षणहरूको व्यवहारमा आउने परिवर्तन (माइल्ड बिहेभियरल इम्पेयरमेन्ट – एमबीआई) बीच सम्बन्ध देखिएको थियो ।

एमबीआई एक यस्तो लक्षण हो, जसलाई डिमेन्सियाको प्रारम्भिक सङ्केतको रूपमा चाँडै पहिचान गर्न सकिन्छ । यसले न केवल सञ्ज्ञानात्मक परिवर्तन तर्फ ध्यान दिनुपर्ने सङ्केत गर्छ, तर मुड, सामाजिक अन्तरक्रिया र व्यक्तित्व परिवर्तनको पनि विचार गर्नुपर्छ । जुन मेनोपज पछि देखा पर्ने र स्थायी बन्न सक्ने सम्भावना रहन्छ ।

अनुसन्धानमा पत्ता लागेको कुरा 

अनुसन्धान कर्ताहरूका अनुसार, हर्मोन थेरापी प्रत्यक्ष रूपमा सञ्ज्ञानात्मक क्षमता सँग जोडिएको पाइएन, तर यसले कम एमबीआई लक्षणहरू देखाउने महत्वपूर्ण लिङ्क देखायो । यसको अर्थ, दीर्घकालीन मस्तिष्क स्वास्थ्यका लागि हर्मोन थेरापीको सम्भावित भूमिका माथि थप अनुसन्धान आवश्यक छ । अनुसन्धानको एउटा रोचक पक्ष भनेको पेरिमेनोपजको समयमा एस्ट्रोजन आधारित हर्मोन थेरापी लिएका महिलाहरूमा एमबीआई लक्षणहरू त्यति गम्भीर नदेखिनु हो ।

क्रस–सेक्सनल अध्ययन 

अनुसन्धान कर्ताहरूले अध्ययनका केही सीमाहरू स्वीकार गरेका छन् । यो अध्ययन क्रस–सेक्सनल भएकोले यसले वर्षौको परिवर्तनलाई ट्रयाक गर्न सक्दैन तर केवल एक निश्चित समयमा लिइएको डेटा मात्र हो । यसले मेनोपजका लक्षणहरू र सञ्ज्ञानात्मक तथा व्यवहारिक स्वास्थ्य बीचको सम्बन्ध पहिचान गर्न सक्छ, तर लक्षणहरूले प्रत्यक्ष रूपमा मस्तिष्क स्वास्थ्य परिवर्तन गराउँछन् वा गर्दैनन् भन्ने निर्धारण गर्न सक्दैन । तर यो अनुसन्धानले पुष्टि गर्छ कि मेनोपज केवल हर्मोनल परिवर्तन मात्र नभई न्युरोलजिकल परिवर्तन पनि हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!