अनुसन्धान
मानव निर्मित मुटुको सहाराले १०० दिनको जीवन, अस्ट्रेलियाली व्यक्तिले रचे इतिहास

अस्ट्रेलियाका ४० वर्षीय व्यक्तिले कृत्रिम मुटुको सहारामा १०० दिनभन्दा बढी समय बिताएर, अन्ततः अस्पतालबाट निस्कने पहिलो व्यक्ति बनेका छन् । यो विश्वमै पहिलो घटना हो, जहाँ कसैले पूर्ण रूपमा कृत्रिम मुटु (Artificial Heart) प्रत्यारोपण गराएर यति लामो समय जीवित रहँदै दाता को मुटु प्राप्त गर्न सफल भएका छन्।
क्विन्सल्याण्डमा जन्मेका डा. ड्यानियल टिम्सद्वारा डिजाइन गरिएको बाइभाकोर (BiVACOR) पूर्ण कृत्रिम मुटु विश्वकै पहिलो रोटरी ब्लड पम्प हो, जसले मानव मुटुलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्छ । हाल प्रारम्भिक क्लिनिकल परीक्षणमा रहेको यो उपकरणले प्राकृतिक रक्त प्रवाहको नक्कल गर्न चुम्बकीय उत्तोलन प्रविधि प्रयोग गर्छ र प्रत्यारोपणको प्रतीक्षामा रहेका बिरामीहरूका लागि अस्थायी समाधानका रूपमा डिजाइन गरिएको छ।
सिड्नीमा ऐतिहासिक सर्जरी
न्यु साउथ वेल्सका एक बिरामीलाई सन् २०२४ को नोभेम्बर २२ तारिख मा सिड्नीको सेन्ट भिन्सेन्ट अस्पताल मा ६ घण्टा लामो सर्जरीपछि यो उपकरण प्रत्यारोपण गरिएको थियो । उनलाई २०२५ को फेब्रुअरीमा डिस्चार्ज दिइएको थियो र मार्चको सुरुवातमा उनी दाता वाट मुटु प्राप्त गर्न सफल भए । शल्यक्रिया नेतृत्व गर्ने सर्जन पाल जान्जले यस उपलब्धिलाई अस्ट्रेलियाली चिकित्सा क्षेत्रमा ऐतिहासिक क्षण भनेका छन् ।
नयाँ आशा
डा. टिम्सका अनुसार बिरामीले १०० दिन भन्दा बढी यो उपकरणको सहारामा बिताए । उनलाई आफ्नो छातीभित्र कृत्रिम मुटु भएको अनुभूति भएन र उनी हिँडडुल, किनमेल र दैनिक गतिविधिहरू सहज रूपमा गर्न सक्षम थिए । टिम्स भन्छन्, ‘उनी ठट्टा गर्दै थिए, ‘सायद हामी कहिल्यै एक पिन्ट (बियर) खान जान सक्छौं की ?’ उनी अत्यन्त राम्रो मुडमा थिए । यदि यो प्रविधि सफल भयो भने, आगामी दिनमा अझ बढी बिरामीहरूमा प्रयोग गरिनेछ ।’
कसरी काम गर्छ कृत्रिम मुटु बाइभाकोर ?
डा. ड्यानियल टिम्सद्वारा आविष्कार गरिएको बाइभाकोर पूर्ण कृत्रिम मुटु (Total Artificial Heart) विश्वकै पहिलो प्रत्यारोपण योग्य रोटरी ब्लड पम्प हो, जसले मानव मुटुको पूर्ण प्रतिस्थापन गर्न सक्छ । बाइभाकोर ले एक मात्र चलायमान भाग (रोटर) प्रयोग गर्छ, जुन चुम्बकीय बल द्वारा पौडिरहेको हुन्छ, जसले माध्य र अविरल रक्त प्रवाह सुनिश्चित गर्छ । टाइटेनियमबाट बनेको यो उपकरण कुनै पनि भल्भ वा यान्त्रिक बियरिङ बिना नै सञ्चालन हुन्छ, जसले यसलाई अन्य उपकरणहरू भन्दा टिकाउ बनाउँछ ।
यो उपकरण यति सानो छ कि १२ वर्षका बच्चा सम्म लाई फिट हुन सक्छ र यसको तौल करिब ६५० ग्राम मात्र हुन्छ । यो बाहिरी ब्याट्री द्वारा सञ्चालित हुन्छ, जुन तार मार्फत बिरामीको छातीमा जोडिएको हुन्छ । यसको ब्याट्री करिब ४ घण्टा सम्म टिक्छ, त्यसपछि नयाँ ब्याट्री चार्ज गर्नु पर्ने हुन्छ ।
प्रारम्भिक परीक्षण र सफलता
अमेरिकामा पहिले नै बाइभाकोर प्रत्यारोपण गरिएको भए तापनि, कोही पनि बिरामी दाताबाट मुटु प्राप्त गर्नु भन्दा अघि २७ दिन भन्दा बढी बाच्न सकेका थिएनन । सेन्ट भिन्सेन्टका कार्डियोलोजिस्ट प्रा.क्रिस हेवर्डका अनुसार अस्ट्रेलियाको सफलता भविष्यमा कृत्रिम मुटु नै हृदय विफलताका बिरामीहरूका लागि स्थायी समाधान हुन सक्छ ।
विशेषज्ञहरूले यो उपलब्धिलाई एक ठूलो प्रविधि गत फड्को भनेका छन् । यद्यपि, कार्डियोलोजिस्ट प्रो डेविड कोल्कोहन भन्छन् कि ‘कृत्रिम मुटु, दाता मुटुको पूर्ण प्रतिस्थापन बन्ने अघि अझ धेरै अनुसन्धान गर्न आवश्यक छ । दाता मुटु सामान्यतः १० वर्षभन्दा बढी टिक्छ, जबकी कृत्रिम मुटुको सीमित आयु हुन सक्छ।
यो उपलब्धि चिकित्सा विज्ञानको उल्लेखनीय प्रगति हो, जसले मुटु रोगबाट पीडित बिरामीहरूलाई नयाँ जीवन दिन सक्छ । यदि आगामी परीक्षणहरू सफल भए भने, कृत्रिम मुटुले निकट भविष्यमा मानव जीवन बचाउने क्रान्तिकारी उपाय बन्न सक्छ ।
प्रतिक्रिया दिनुहोस