गर्भावस्था सँग सम्बन्धित धेरै जटिलता पहिचान र उपचार विहीनः डब्लुएचओ

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) द्वारा सार्वजनिक गरिएको नयाँ अनुसन्धान अनुसार, मातृ मृत्यु दरका प्रमुख कारणहरूमा रक्तस्राव (गम्भीर र बढी रगत बग्ने) र उच्च रक्तचाप सम्बन्धी समस्या (जस्तै प्रि–एक्लेम्पसिया) परेका छन् ।
सन् २०२० मा मात्र, यी अवस्थाहरूले क्रमशः ८० हजार र ५० हजार महिलाहरूको मृत्यु गराएका थिए, जसले गर्भावस्था र प्रसूति पछिको समयमा धेरै महिलाहरूले जीवन रक्षक उपचार र प्रभावकारी हेरचाह पाउन नसकेको देखाउँछ ।
यो अध्ययन द ल्यान्सेट ग्लोबल हेल्थ मा प्रकाशित गरिएको हो, जुन संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य (एसडीजी) २०१५ मा स्वीकृत भए यता मातृ मृत्यु दरको कारण सम्बन्धी डब्लुएचओको पहिलो विश्वव्यापी अद्यावधिक हो ।
अनुसन्धानले देखाएको छ कि प्रत्यक्ष प्रसूति सम्बन्धी कारणहरू बाहेक, एचआईभी/एड्स, औलो, रक्त अल्पता र मधुमेह जस्ता सङ्क्रामक तथा दीर्घकालीन रोगहरूले पनि गर्भावस्था र प्रसूति सम्बन्धी मृत्यु दरमा २३ प्रतिशत योगदान पुर्याएको छ । यी रोगहरू सामान्यतः पहिचान वा उपचार न हुनाले गम्भीर जटिलता निम्त्याउँछन् ।
‘गर्भवती महिलाहरूको मृत्यु हुनुको मुख्य कारण बुझ्न अत्यन्त आवश्यक छ, जसले विश्व भर मातृ मृत्युदर नियन्त्रण गर्न मद्दत पुर्याउँछ’, डब्लुएचओका यौन तथा प्रजनन स्वास्थ्य अनुसन्धान निर्देशक डा. पास्कल अलोटेले भने–‘यो न्यायको पनि विषय हो । संसार भरका महिलाहरूले गर्भावस्था, प्रसूति र प्रसूति पछिको समयमा गुण स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न आवश्यक छ ।’
सन् २०२० मा कुल २८ लाख ७ हजार महिलाहरूको मातृ मृत्यु भएको अनुमान गरिएको छ, जसको अर्थ प्रत्येक दुई मिनेटमा एक महिलाको मृत्यु भएको हो ।
अध्ययनले देखाएको छ कि प्रसूति समयमा वा त्यस पछिको रक्तस्रावका कारण २७ प्रतिशत महिलाहरूको मृत्यु भएको छ, भने प्रि–एक्लेम्पसिया तथा अन्य उच्च रक्तचाप सम्बन्धी समस्याले थप १६ प्रतिशत मृत्युदर बढाएको छ ।
अन्य प्रत्यक्ष कारणहरूमा सेप्सिस तथा सङ्क्रमण, पल्मोनरी एम्बोलिज्म, गर्भपतनका जटिलता (स्वाभाविक तथा प्रेरित दुबै), असुरक्षित गर्भपतन, बेहोस गराउने औषधि सम्बन्धी समस्या र प्रसूति समयमा हुने चोट पटक समावेश छन् ।
नयाँ अनुसन्धानले मातृ स्वास्थ्य सेवाहरूलाई सशक्त बनाउन आवश्यक रहेको देखाएको छ । विशेष गरी गर्भावस्थाको शुरुमा नै जोखिम पत्ता लगाउने प्रसव पूर्व सेवाहरू, जटिल प्रसूति समस्या समाधान गर्न जीवन रक्षक उपचारहरू र प्रसूति पछिको हेरचाहलाई बलियो बनाउनु आवश्यक छ ।
अधिकांश मातृ मृत्युहरू प्रसूति समयमा वा त्यस पछिको छोटो अवधिमा हुने भएका ले यो समय अत्यन्तै संवेदनशील रहेको अनुसन्धानले देखाएको छ । तर अझै पनि विशेष गरी निम्न आय भएका देशहरूमा एक तिहाइ महिलाहरूले प्रसूति पछिको आवश्यक स्वास्थ्य परीक्षण पाउँदैनन् ।
‘गर्भावस्था र प्रसूति पछि महिलाहरूको मृत्यु हुने प्रमुख कारणहरू परस्पर सम्बन्धित छन’, डब्लुएचओकी वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक डा. जेनी क्रेसवेल बताउँछन्– ‘प्रि–एक्लेम्पसियाले रक्त स्रावको सम्भावना अत्यधिक बढाउन सक्छ, जसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ । यसलाई न्यूनीकरण गर्न सम्पूर्ण मातृ स्वास्थ्य प्रणालीलाई समग्र रूपमा सुदृढ बनाउनु आवश्यक छ ।’
अध्ययनले डब्लुएचओलाई रिपोर्ट गरिएका राष्ट्रिय तथ्याङ्क तथा अनुसन्धान पत्र हरूमा आधारित रहेको छ । केही क्षेत्रमा तथ्याङ्क अभाव रहेकोले विशेष गरी प्रसूति पछिको मानसिक स्वास्थ्य र मातृ आत्महत्या जस्ता कारणहरूको विस्तृत अध्ययन गर्न आवश्यक रहेको उल्लेख गरिएको छ ।
डब्लुएचओले मातृ तथा नवजात शिशु स्वास्थ्य सुधार गर्न वैज्ञानिक अनुसन्धान, नीति निर्माण, र उच्चस्तरीय स्वास्थ्य सेवाहरूको विकासमा कार्य गरिरहेको छ । सन् २०२४ मा, डब्लुएचओ तथा साझेदार संस्थाहरूले प्रसूति पछिको रक्तस्राव नियन्त्रणका लागि एक विश्व व्यापी योजना सार्वजनिक गरेका थिए ।
सन् २०२५ को विश्व स्वास्थ्य दिवस मातृ तथा नवजात शिशु स्वास्थ्यलाई केन्द्र बिन्दु बनाएर मनाइने भएको छ । यस अभियानले विशेष गरी गरिब तथा संकट ग्रस्त क्षेत्रमा महिलाहरू र शिशुहरूको उच्चस्तरीय स्वास्थ्य सेवामा पहुँचलाई सुनिश्चित गर्न आह्वान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस