अनुसन्धान
स्तन क्यान्सर उपचारमा प्रतिरोध गर्ने जीनोम पत्ता लाग्यो

नयाँ दिल्ली (ब्युराे) – भारतका वैज्ञानिकहरूले स्तन क्यान्सरको उपचारमा प्रतिरोध गर्ने जीनोम तत्व पत्ता लगाएका छन्, जसले क्यान्सर थेरापीको प्रभावकारिता सुधार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
टाटा मेमोरियल सेन्टर, मुम्बई र नेशनल इन्स्टिच्युट अफ बायोमेडिकल जिनोमिक्स, पश्चिम बंगालका अनुसन्धान कर्ताहरूले संयुक्त रूपमा गरेको अध्ययनले हर्मोन थेरापीको प्रभाव घटाउने तीन प्रमुख जीनको पहिचान गरेको छ ।
स्तन क्यान्सर भारतमा महिलाहरूमा सबैभन्दा बढी देखिने क्यान्सर हो, जसले कुल २८.२ प्रतिशत घटनालाई समेट्छ । प्रत्येक वर्ष करिब दुई लाख नयाँ बिरामीहरू फेला पर्ने गरेका छन् ।
हर्मोन थेरापीलाई यसको उपचारको प्रभावकारी विधि मानिन्छ, तर केही बिरामीहरूमा यो थेरापी प्रभाव हीन हुने गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार, करिब ५०–६० प्रतिशत बिरामीहरूमा ’एस्ट्रोजन रिसेप्टर’ नामक प्रोटिनको उपस्थितिले उपचार प्रक्रियामा प्रभाव पार्ने देखिएको छ ।
अनुसन्धानमा सम्पूर्ण जीनोम अनुक्रमण प्रविधि अपनाइएको थियो, जस अनुसार क्यान्सर ट्युमरहरूमा तीन प्रमुख जीनहरूमा उत्परिवर्तन पाइएको छ ।
भारतीय जनसङ्ख्यामा विशेष आनुवंशिक विविधता भएकाले लक्षित उपचार पद्धति विकास गर्न यस खोजले सहयोग गर्ने अनुसन्धानकर्ताहरूको विश्वास छ।
टाटा मेमोरियल सेन्टरका निर्देशक डा. सुदीप गुप्ताका अनुसार, यो अध्ययन क्लिनिकल अवलोकनहरूलाई जीनोमिक अनुसन्धान सँग जोड्दै उपचार प्रतिरोधका जैविक आधारहरू उजागर गर्न सफल भएको छ।
यो अनुसन्धान जैव प्रविधि विभाग द्वारा वित्त पोषित भर्चुअल नेशनल क्यान्सर इन्स्टिच्युट कार्यक्रम अन्तर्गत गरिएको थियो। अनुसन्धान कर्ताहरूले यस खोजका आधारमा क्यान्सर उपचारमा नयाँ रणनीति अपनाउन सकिने विश्वास व्यक्त गरेका छन्, जसले भविष्यमा स्तन क्यान्सरका बिरामीहरूको उपचार अझ प्रभावकारी बनाउन सक्नेछ ।
प्रतिक्रिया दिनुहोस