अनुसन्धान

‘स्ट्रोक उपचारमा नयाँ खोजले उपचारलाइ नवीन दिशा दिन सक्ने आशा’


चीनका अनुसन्धान कर्ताहरूको एउटा टोलीले गरेको अध्ययन अनुसार, रक्तको थक्का (Blood Clot) हटाउने औषधि अल्टेप्लेस (Alteplase) इस्केमिक स्ट्रोक (Ischemic Stroke) भएका बिरामीहरूको स्वास्थ्य सुधार गर्न ५० प्रतिशत भन्दा बढी प्रभावकारी हुन सक्छ ।

स्ट्रोक उपचारमा नयाँ खोज

चीनको झेजियाङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हालै अमेरिकाको लस एन्जलसमा आयोजित अमेरिकन स्ट्रोक एसोसिएसन द्वारा आयोजित अन्तर्राष्ट्रिय स्ट्रोक सम्मेलन २०२५ मा आफ्नो अनुसन्धान प्रस्तुत गरे ।

उनीहरूले पत्ता लगाए कि अल्टेप्लेस इस्केमिक स्ट्रोक सुरु भएको २४ घण्टा सम्म दिन सकिने प्रभावकारी औषधि हो ।

गोल्डेन आवरको महत्व

स्ट्रोकबाट प्रभावित बिरामीहरूको लागि गोल्डन आवर भनेको लक्षण देखिन थाले पछि को पहिलो ६० मिनेट हो, जब मस्तिष्कको कुनै भागमा रक्त सञ्चार कम भएर कोशिकाहरू मर्न थाल्छन् । यो समयमा उपचार सबै भन्दा बढी असरकारी हुन्छ । अहिले सम्म प्रभावकारी उपचारको लागि ज्ञात समय केही बिरामीहरूको लागि ४.५ घण्टा सम्मको थियो ।

बिरामीहरूलाई नयाँ आशा

झेजियाङ विश्वविद्यालयको स्कूल अफ मेडिसिन का प्राध्यापक मिन लू का अनुसार यो अध्ययन संसार भर स्ट्रोक प्रभावित बिरामीहरूका लागि निकै आशाजनक छ। किन भने धेरै बिरामीहरू समयमै रक्तको थक्का गलाउने औषधि सम्म पहुच पाउन सक्दैनन् ।

अनुसन्धान कसरी गरियो?

यो अध्ययन ३७२ जना स्ट्रोक बिरामीहरू मा गरिएको थियो, जसका लक्षणहरू ४.५ घण्टा देखि २४ घण्टा अघि देखिएका थिए । उनीहरूलाई दुई समूहमा बाँडिएको थियो । पहिलो समूहलाई रगतको थक्का गलाउने औषधी अल्टेप्लेस दिइयो । जबकी दोस्रो समूहलाई एण्टीप्लेटलेट थेरापी अनुसार स्ट्रोकको सामान्य उपचार दिइयो ।

अनुसन्धानका नतिजाहरू

अल्टेप्लेस औषधि पाएपछि ९० दिनमा ४० प्रतिशत बिरामीहरूमा थोरै मात्र वा कुनै पनि अपाङ्गता देखिएन सामान्य उपचार प्राप्त गरेका बिरामीहरूमा यो दर केवल २६ प्रतिशत मात्र थियो। अल्टेप्लेसले स्ट्रोक पछि कार्यात्मक सुधारको सम्भावना ५४ प्रतिशत ले बढाएको देखियो।

जोखिम र थप अनुसन्धानको आवश्यकता

हाल सम्मको अध्ययनमा अल्टेप्लेस लिने बिरामीहरूमा मस्तिष्कमा रक्तस्राव हुने जोखिम ३.८ प्रतिशत रहेको पत्ता लागेको छ, जुन औषधि नलिने बिरामीहरूमा ०.५ प्रतिशत मात्रै थियो ।

तर अनुसन्धान कर्ताहरूका अनुसार यो जोखिम व्यवस्थापन गर्न सकिने खालको छ। प्राध्यापक मिन लू ले भने, थप अनुसन्धान आवश्यक छ, विशेष गरी फरक–फरक स्ट्रोक जोखिम भएका बिरामीहरूमा यसको प्रभावकारिता तथा सुरक्षा सुनिश्चित गर्न ।

विभिन्न स्वास्थ्य सेवा स्रोतहरू भएका क्षेत्रमा अल्टेप्लेस जस्ता औषधिहरू कत्तिको प्रभावकारी हुन्छन् भन्ने बारे पनि विस्तृत अध्ययन आवश्यक छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!