सहरी क्षेत्रमा उच्च रक्तचाप, मधुमेह लगायत नसर्ने रोग बढ्दो

विराटनगर– नेपालको सहरी क्षेत्रमा उच्च रक्तचाप, मधुमेह लगायतका नसर्ने रोगको जोखिम पछिल्लो समय बढ्दै गएको अवस्था एकराही चौकमा सम्पन्न एउटा सानो निःशुल्क स्वास्थ्य शिविरले झल्काएको छ ।
‘यो ठाउँ सहरी भए पनि यहाँ ग्रामीण परिवेश नै हो । त्यहाँ हामीले गरेको एउटा सानो निःशुल्क स्वास्थ्य शिविरले मुलुकमा बढ्दै गरेको नसर्ने रोगको जोखिमलाई थप प्रस्टाएको छ’, डा.हुलास अग्रवालले भने–‘जँचाउन आएका मध्ये २५ प्रतिशत बिरामीलाई उच्च रक्तचाप र मधुमेह को समस्या देखियो । पाँच जना बिरामी लाई त सुगर ३०० भन्दा बढी थियो ।’
सहरिया जीवन शैली र खानपान तर्फ ढल्कँदै गएको अवस्था र समय मै उपचार प्रकृया मा नजानू, औषधि खाए पनि नियमित जाँच नगर्नू, अपूर्ण मात्रामा खानु लगायत काले यो रोगको जोखिम र समस्या थप बढाउँदै गएको देखिएको डा.अग्रवालले बताए ।
१८० जना लाभान्वित भएका उक्त शिविरमा २५ प्रतिशत बिरामी उच्च रक्तचाप र मधुमेहका थिए । यस्तै शिविरमा उपचारको लागि आएका ६५ प्रतिशत ५० वर्ष माथिका थिए भने महिलाको सहभागिता ७३ प्रतिशत थियो ।
नेपलिज सोसाइटी फर प्राइमरी केयर र विराट हेल्थ कोर्पसको आयोजना एवं चौतारी हेल्थकेयर सर्भिसेजको प्राविधिक सहयोगमा उक्त शिविर विराटनगर–४ स्थित आधारभूत स्वास्थ्य चौकी, एकराहीमा गत शनिवार सम्पन्न भएको हो ।
नसर्ने रोग लक्षित यो शिविरमा बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, सुगर र प्रेशर जाँच सँगै आवश्यक भएका लाई निःशुल्क औषधि समेत प्रदान गरिएको थियो ।
शिविरको उद्घाटन गर्दै डा. बबी भगतले नसर्ने रोग अहिलेको ठूलो चुनौती रहेको र समाजका अगुवाहरू सँग छलफल गरी शिविर सञ्चालन गरिएको बताए ।
शिविरमा डा. पार्थ गुरागाईं, डा. हुलास अग्रवाल, डा. तुलाराम यादव र डा. विनोद यादवको सहभागिता रहेको थियो । यस्तै विराट हेल्थ कोर्पसको तर्फबाट बिबिसा भण्डारी, सृष्टि गुप्ता, ऋचा जैन, आयुष बुढाथोकी, एरोन न्यौपाने, नोर्दैन शेर्पा, प्रणव अग्रवाल, यशस्वी राजन, रेकर्ण बर्तौला,किरन खड्का र क्षितिज पराजुलीले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
नेपलिज सोसाइटी फर प्राइमरी केयरले मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न पालिकाहरूमा स्वास्थ्य र वातावरण सम्बन्धी कार्यक्रमहरू गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस