‘हङकङ उडान भरेको क्याथे प्यासिफिक एयरलाइन्सका २८ यात्रुहरूमा खाद्य विषाक्तता, अध्ययनका लागि समिति गठन’

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ उडान भरेका क्याथे प्यासिफिक एयरलाइन्सका यात्रुहरूमा खाद्य विषाक्तता (food poisoning) देखा परेको छ ।
काठमाडौं वाट हङकङ उडान भरेका क्याथे प्यासिफिक एयरलाइन्सका गत बुधवार र बिहीवारको उडानमा क्रमशः १० र १८ जनामा खाद्य विषाक्तता देखिएको हो।
उच्च श्रोतले नेपालहेल्थप्रेस लाई बताए अनुसार ती यात्रुहरूलाई विमानमा वान्ता लगायतका खाद्य विषाक्तता सँग सम्बन्धित समस्या देखिएको थियो । यस विषयमा छानबिनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चार सदस्यीय समिति समेत गठन गरेको छ ।
अन्तर्राष्ट्रिय खाद्य सुरक्षा प्राधिकरण नेटवर्क को सचिवालयले गत बुधवार र बिहीवार (पौष ८ र ९ गते) को उडानमा क्रमशः १० जना र १८ जना यात्रुहरूमा खाद्य विषाक्तता समस्या देखिएको जनाएको हो । उक्त जानकारी नेपालको आधिकारिक निकायलाई इमेल वाट गत शनिवार (२७ पौष) दिइएको थियो ।
छानबिनका लागि समिति गठन
विभागका महा निर्देशक सञ्जीव कुमार कर्णको अध्यक्षतामा मिति २०८१ पौष २८ गते बसेको बैठकले घटनाको विस्तृत अध्ययन गर्न चार सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकत्व विभागका शाखा प्रमुख सुमन धितालले गर्ने छन्। समितिलाई सात दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
खाद्य स्वच्छता सुनिश्चित गर्न निर्देशन
विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र सञ्चालन हुने खाद्य व्यवसाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायकलाई यात्रुहरूलाई उपलब्ध गराइने खाद्य पदार्थको स्वच्छता र गुण स्तरीयता सुनिश्चित गर्न समेत निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस