डा. ओममूर्ति अनिलद्वारा विपन्न विद्यार्थीका लागि २० लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा
काठमाडौं — वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले आफ्नो पुस्तक ‘जीवन्त सम्बन्ध’ को बिक्रीबाट संकलित रकम विपन्न विद्यार्थीहरूको शिक्षाका लागि खर्चिने घोषणा गरेका छन्।
डा. ओम फाउन्डेसन मार्फत ६ देखि ९ कक्षा सम्मका जेहेन्दार तर आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई २० लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिनेछ।
छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीहरूले आफैं, अभिभावक, वा विद्यालयमार्फत आवेदन दिन सक्ने छन्।अघिल्लो कक्षाको प्रमाणपत्र र चालु शैक्षिक सत्रका दुई त्रैमासिक परीक्षाको नतिजा सहित आवेदन दिनु पर्नेछ। आवेदन माघ १७ गतेदेखि फागुन ५ गतेसम्म खुला रहने छ।
डा. ओम फाउन्डेसनले यस अघि पनि स्वास्थ्य, शिक्षा र सामाजिक उत्थानका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ। निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरी १६०० भन्दा बढीको स्वास्थ्य परीक्षण, साथै ३५० विपन्न परिवारलाई कम्बल वितरण जस्ता सामाजिक कार्यहरू यस संस्थाले गरिसकेको छ।
डा. अनिलका अनुसार यो छात्रवृत्ति योजना आर्थिक अभावका कारण शिक्षा रोक्नु पर्ने अवस्थालाई न्यूनीकरण गर्न केन्द्रित छ। उनले भने, ‘यो मात्र सहयोग होइन, भविष्य निर्माणको प्रयास हो। शिक्षाले नै समाजलाई सक्षम बनाउँछ, र यही सोचले हामी अघि बढेका छौं।’
प्रतिक्रिया दिनुहोस