थारु समुदायका लागि सिकलसेल विरुद्ध निःशुल्क भ्याक्सिन वितरण सुरु

काठमाडौं — थारु समुदायमा वंशाणुगत रूपमा देखा पर्ने प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया र थालसिमिया विरुद्ध निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा भारत सरकारले उपलब्ध गराएको भ्याक्सिन शुक्रबार एक समारोह बीच नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य मन्त्री पौडेललाई उक्त सहयोग हस्तान्तरण गरे।
मन्त्री पौडेलले थारु समुदायमा सिकलसेल र थालसिमियाको उपचार सहज बनाउन यसै वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जमा विशेष वार्ड स्थापना गर्ने निर्णय गरेका थिए। साथै, बिरामीलाई निःशुल्क प्रतिरोधी औषधि उपलब्ध गराउने घोषणा पनि गरिएको थियो।
भारत भ्रमणका क्रममा मन्त्री पौडेलले भारतका केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डासँग समेत छलफल गरेका थिए। त्यस पछि भारत सरकारले करिब चार लाख अमेरिकी डलर बराबरको विभिन्न प्रकारका भ्याक्सिन उपलब्ध गराएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार भ्याक्सिन सिकलसेल र थालसिमियाबाट प्रभावित सरकारी अस्पतालहरू मार्फत वितरण गरिनेछ। विशेष गरी बाँके, बर्दिया, कैलाली, र दाङजस्ता थारु समुदाय बहुल जिल्लाका बिरामीलाई प्राथमिकता दिइनेछ।
भेरी अस्पताल, सेती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, टिकापुर अस्पताल लगायत संघीय, प्रदेश र स्थानीय तहका अस्पतालमा भ्याक्सिन आपूर्ति गरिने तयारी गरिएको छ।
मन्त्री पौडेलले थारु समुदायको दीर्घकालीन समस्या समाधानका लागि छोटो अवधिमै उपचार सहायता र औषधि वितरणमा मन्त्रालय सफल भएको बताए। ‘अब प्राप्त भ्याक्सिनबाट उपचारमा ठूलो राहत पुग्ने विश्वास लिएको छु,’ उनले भने ।
वितरणका लागि भ्याक्सिनहरू स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलमा पठाइनेछ। सिकलसेल एनिमिया तथा थालसिमियाका कारण बिरामीको प्रतिरोध क्षमता कमजोर भई निमोनिया, मेनिन्जाइटिस जस्ता गम्भीर रोग लाग्ने सम्भावना बढी हुने भएकाले भ्याक्सिन वितरणको निर्णय सरकारले गरेको हो।
प्रतिक्रिया दिनुहोस