अनुसन्धान
एन्टिडिप्रेसन्ट औषधि प्रयोगले अचानक मुटु ले काम गर्न बन्द गरेर हुने मृत्युको जोखिम वृद्धि

नया अध्ययनले एन्टिडिप्रेसन्ट औषधि प्रयोगले अचानक मुटु ले काम गर्न बन्द गरेर हुने मृत्यु (Sudden Cardiac Death) को जोखिम उल्लेखनीय रूपमा वृद्धि गर्ने देखाएको छ ।
अचानक मुटु ले काम गर्न बन्द गरेर हुने मृत्यु भन्नाले कुनै व्यक्तिको अप्रत्याशित मृत्युलाई जनाउछ, जुन मुटु सम्बन्धी समस्याका कारण भएको विश्वास गरिन्छ । यदि प्रत्यक्षदर्शी रहेको अवस्थामा एक घण्टा भित्र लक्षण देखिएर मृत्यु भएमा वा प्रत्यक्षदर्शी नभएको अवस्थामा अन्तिम पटक जीवित देखिएको २४ घण्टा भित्र मृत्यु भएमा त्यसलाई सडन कार्डीयाक डेथ (एससिडी) मानिन्छ ।
सामान्य भाषा मा भन्ने हा भने एससीडी भनेको मुटु सँग सम्बन्धित समस्याका कारण हुने अप्रत्याशित मृत्यु हो, जुन सामान्यतया लक्षणहरू देखा परेको एक घण्टा भित्र हुन्छ । यो तब हुन्छ जब मुटु अचानक विद्युतीय खराबीका कारण धड्कन बन्द हुन्छ, जसले गर्दा चेतना गुम्छ र तत्काल हस्तक्षेप नगरी मृत्यु हुन्छ ।
यस्तै एन्टीडिप्रेसन्ट औषधीहरू डिप्रेसन, चिन्ताजन्य विकारहरू, र अन्य मनोभावसम्बन्धी समस्याहरूको उपचार गर्न प्रयोग गरिन्छ। यी औषधीहरू मस्तिष्कमा भएका न्यूरोट्रान्समिटर भनिने रसायनहरूको सन्तुलन कायम राखेर काम गर्छन्। यसले मनोभाव सुधार गर्न, तनाव कम गर्न, र मानसिक स्वास्थ्य समस्याहरूको लक्षण व्यवस्थापन गर्न मद्दत गर्छ।
एन्टिडिप्रेसन्ट औषधि प्रयोगको असर
मानसिक समस्याबाट ग्रस्त व्यक्तिहरूमा अचानक मुटु ले काम गर्न बन्द गरेर हुने मृत्युको जोखिम दोब्बर हुन्छ भन्ने पहिल्यै अध्ययनहरूले देखाइ सकेका छन्। तर, एन्टिडिप्रेसन्ट औषधिको प्रयोग र सडन कार्डीयाक डेथ (एससिडी) जोखिम बीचको सम्बन्ध अहिले सम्म स्पष्ट थिएन ।
युरोपियन सोसाइटी अफ कार्डियोलोजी को वैज्ञानिक सम्मेलन ‘एएचआरए २०२५’, मा प्रस्तुत नयाँ अनुसन्धान अनुसार, एन्टिडिप्रेसन्ट औषधि प्रयोग गर्ने व्यक्तिहरूमा एससिडी को जोखिम उल्लेखनीय रूपमा वृद्धि हुने देखिएको छ । अनुसन्धानले १८–९० वर्ष उमेर समूहका ४३ लाख डेनमार्क निवासीहरूको मृत्यु प्रमाणपत्र र शव परीक्षण प्रतिवेदनहरूको समीक्षा गरेको थियो।
अध्ययन अनुसार, २०१० मा ४५,७०१ व्यक्तिको मृत्यु भएकोमा ६ हजार २ घटना एससिडी का थिए । अनुसन्धानले १२ वर्ष सम्म एन्टिडिप्रेसन्ट औषधि प्रयोग गरेका ६ लाख ३ हजार ९ सय ९९ व्यक्तिहरूलाई समेटेको थियो । यस समूहमा १ हजार ९ सय ८१ अचानक मुटु ले काम गर्न बन्द गरेर हुने मृत्युक (एससिडी) घटना दर्ता भए भने एन्टिडिप्रेसन्ट प्रयोग नगरेका समूहमा ४हजार २१ एससिडी घटना देखियो ।
एन्टिडिप्रेसन्ट औषधि प्रयोगको अवधि अनुसार जोखिम फरक देखियोः
- १ देखि ५ वर्षसम्म औषधि प्रयोग गर्नेहरूमा अचानक मुटु ले काम गर्न बन्द गरेर हुने मृत्यु को जोखिम ५६ प्रतिशतले वृद्धि भयो
- ६ वर्ष वा सोभन्दा बढी प्रयोग गर्नेहरूमा जोखिम २.२ गुणाले बढ्यो।
विशेष गरी, ३०–३९ वर्ष उमेर समूहमा १–५ वर्ष सम्म एन्टिडिप्रेसन्ट प्रयोग गर्नेहरूमा अचानक मुटु ले काम गर्न बन्द गरेर हुने मृत्यु को जोखिम तीन गुणाले बढेको देखियो । जबकि ६ वर्ष वा साे भन्दा बढी प्रयोग गर्नेहरूको जोखिम पाँच गुणाले वृद्धि भएको थियो।
त्यसै गरी, ५०–५९ वर्ष उमेर समूहमा १–५ वर्ष औषधि प्रयोग गर्नेहरूमा जोखिम दोब्बर भयो । जबकि ६ वर्ष वा सो भन्दा बढी प्रयोग गर्नेहरूमा जोखिम चार गुणाले बढ्यो।
उमेर वृद्धि सँगै जोखिममा कमी आएको देखियो। उदाहरणका लागि, ७०–७९ वर्ष उमेर समूहमा १–५ वर्ष एन्टिडिप्रेसन्ट प्रयोग गर्नेहरूमा जोखिम ८३ प्रतिशत ले वृद्धि भयो भने ६ वा सो भन्दा बढी प्रयोग गर्नेहरूमा २.२ गुणाले जोखिम बढेको देखियो ।
अध्ययनकर्ताहरूको धारणा
अध्ययनका सहलेखक डा. जास्मिन मुज्कानोविच का अनुसार, ‘एन्टिडिप्रेसन्ट औषधिको लामो समय‘सम्मको प्रयोग अचानक मुटु ले काम गर्न बन्द गरी हुने मृत्युको जोखिमसाग प्रत्यक्ष सम्बन्धित छ। ६ वर्ष वा सोभन्दा बढी प्रयोग गर्नेहरूमा जोखिम अझ बढेको देखियो ।’
यसबारे सम्भावित कारणहरू बारे चर्चा गर्दै उनले थपेः ‘एन्टिडिप्रेसन्ट औषधिहरूको प्रतिकूल असर यसका लागि जिम्मेवार हुन सक्छ । साथै, औषधि प्रयोग गर्ने व्यक्तिहरूमा मानसिक समस्याको गहिराइ, विलम्बित स्वास्थ्य जाँच, र कमजोर मुटु स्वास्थ्य जस्ता कारकहरूले पनि असर पुर्याएको हुन सक्छँ। यसबारे थप अनुसन्धान आवश्यक छ ।’
यस अध्ययनले एन्टिडिप्रेसन्ट औषधिको लामो समय सम्म प्रयोग अचानक मुटु ले काम गर्न बन्द गरेर हुने मृत्युको जोखिम वृद्धि गर्ने प्रमाण प्रस्तुत गरेको छ। मानसिक स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरूले बिरामीहरूको मुटु स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस