अनुसन्धान

लेनाकापाभिरः बर्सेनी एउटा इन्जेक्सन बाट एचआईभी रोकथाम सम्भव


‘द ल्यान्सेट’ , मा प्रकाशित अध्ययन अनुसार, वार्षिक रूपमा लगाइने एक मात्र इन्जेक्सनले एचआइभीबाट सुरक्षा दिन सक्ने आशाजनक परिणाम देखिएको छ । अमेरिकी अनुसन्धान आधारित बायो फर्मास्युटिकल कम्पनी गिलियड साइंसेजले विकास गरेको लेनाकापाभिर (Lenacapavir) औषधि स्टेज १ क्लिनिकल परीक्षणमा प्रभावकारी देखिएको छ ।

गिलियड साइंसेजद्वारा विकास गरिएको लेनाकापाविर औषधिले वार्षिक रूपमा लगाइने इन्जेक्सन मार्फत एचआईभी रोकथाम गर्न मद्दत गर्न सक्छ । यो औषधिले एचआईभी भाइरसलाई मानव कोषिकामा प्रवेश गर्न र वृद्धि गर्न रोक्ने कार्य गर्छ, जसले दीर्घकालीन सुरक्षा प्रदान गर्छ । स्टेज १ परीक्षण अनुसार, एक मात्र इन्जेक्सन पछि यो औषधि कम्तीमा ५६ साता सम्म शरीरमा प्रभावकारी रूपमा रहयो ।

लेनाकापाभिर क्लिनिकल परीक्षणमा १८–५५ वर्ष उमेर समूहका ४० जना एचआईभी नकारात्मक सहभागीहरू संलग्न थिए । दुई फरक संस्करणमा औषधि तयार गरिएको थियो—एउटामा ५ प्रतिशत इथानोल र अर्कोमा १० प्रतिशत इथानोल । सहभागीहरूलाई ५००० मिलि ग्रामको एकल मात्रा दिइएको थियो, जस पछि ५६ साता सम्म परीक्षणका लागि नमुना सङ्कलन गरियो । दुवै फर्मुलेसन सुरक्षित र सह्य पाइयो । सबै भन्दा सामान्य पार्श्व प्रभाव इन्जेक्सन दिइएको ठाउँमा हल्का दुखाइ थियो, जुन एक साता भित्र हट्यो ।

एचआईभी रोकथामः हालका उपाय र भविष्यका सम्भावना

हाल, प्रि–एक्सपोजर प्रोफिलाक्सिस (पिआरइपी) का रूपमा दैनिक रूपमा खाने चक्की वा प्रत्येक आठ सातामा लगाइने इन्जेक्सन उपलब्ध छन् । यद्यपि, पिआरइपी अत्यधिक प्रभावकारी भए तापनि, सबैका लागि दैनिक औषधि अनुसरण गर्न सहज हुँदैन । यस्तो अवस्थामा, वार्षिक लेनाकापाविर इन्जेक्सन एक प्रभावकारी विकल्प बन्न सक्छ, विशेष गरी ती व्यक्तिहरूका लागि जो दैनिक औषधि सेवन गर्न कठिनाइ अनुभव गर्छन् ।

एचआईभीको अवस्था र भविष्यमा प्रभाव 

हालैको अध्ययन अनुसार, लेनाकापाभिर इन्जेक्सन सुरक्षित र उच्च प्रभावकारी देखिएको छ । तर, परीक्षण सानो समूहमा सीमित भएका ले यसलाई व्यापक रूपमा प्रयोग गर्नु अघि थप अनुसन्धान आवश्यक छ । यदि आगामी परीक्षणहरू सफल भए भने वार्षिक लेनाकापाभिर इन्जेक्सन एचआईभी रोकथाममा क्रान्तिकारी उपलब्धि बन्न सक्छ ।

सन् २०२३ काे तथ्यांक अनुसार, विश्व भर करिब ३ करोड ९० लाख मानिस एचआईभी सङ्क्रमित छन । जसको ६५ प्रतिशत अफ्रिकी क्षेत्रमा छन् । यस्तो अवस्थामा, वार्षिक बायोमेडिकल हस्तक्षेपले एचआईभी सङ्क्रमण दरलाई कम गर्न र विश्वव्यापी रूपमा एचआईभी/एड्स नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!