एचपीभी खोपले बाँझोपन गर्दैन: स्वास्थ्य मन्त्रालय


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले पाठेघर मुखको क्यान्सर विरुद्ध लगाइने एचपीभी खोप र बाँझोपन बीच कुनै सम्बन्ध नरहेको जनाएको छ ।

सरकारले देशभरका १६ लाख किशोरीहरूलाई एचपीभी (ह्युमन प्यापिलोमाभाइरस) खोप दिने अभियान सुरु गरेको छ।  माघको तेस्रो सातादेखि सञ्चालनमा आउने यो कार्यक्रम अन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई सर्वसुलभ रूपमा खोप दिइँदैछ। तर, केही अभिभावक तथा किशोरीहरूमा ‘के एचपीभी खोपले बाँझोपन गराउँछ?’ भन्ने आशंका देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, एचपीभी खोप र बाँझोपनबीच कुनै सम्बन्ध छैन। विश्व स्वास्थ्य संगठनले करिब दुई दशक अघि नै यो खोपलाई सुरक्षित तथा प्रभावकारी ठहर गरी अनुमति दिएको हो।

हालसम्म १४५ देशले यसलाई आफ्नो राष्ट्रिय खोप कार्यक्रम मा समावेश गरिसकेका छन्। यससम्बन्धी विभिन्न वैज्ञानिक अध्ययनहरूले पनि एचपीभी खोपले कुनै प्रकारको प्रजनन क्षमतामा असर नपार्ने देखाएका छन्।

किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि महत्त्वपूर्ण खोप

एचपीभी खोपले महिलाहरूमा पाठेघरको क्यान्सर रोक्न महत्वपूर्ण भूमिका खेल्छ। नेपालमा पनि यो रोग गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएकाले सरकार किशोरी उमेरमै यो खोप उपलब्ध गराएर भविष्यमा पाठेघरको क्यान्सरको जोखिम कम गर्न चाहन्छ।

सरकारको आग्रह: ढुक्क भएर खोप लगाउनुहोस्

स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई भ्रामक सूचनामा नपर्न आग्रह गर्दै ढुक्क भएर खोप लगाउन सुझाव दिएको छ। खोपसम्बन्धी थप जानकारीका लागि स्वास्थ्य मन्त्रालयको निःशुल्क हेल्पलाइन ‘हेल्लो स्वास्थ्य’ (१११५) वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सकिन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!