‘न्युट्र्रास्युटिकल अनियमितताको जिम्मेवार आयात कर्ता, डाक्टर तर मारमा औषधि पसल’
काठमाडौं – नेपाल फार्मेसी सङ्घले न्युट्र्रास्युटिकल सम्बन्धी अनियमितता को मुख्य जिम्मेवार आयात कर्ता र डाक्टर हरु रहे पनि हाल औषधि व्यवस्था विभागले खुद्रा औषधि विक्रेता र फार्मासिष्टमा थोपर्ने काम गरेको आरोप लगाएका छन् ।
वास्तविक दोषीलाई नदेखी अन्य सरोकारवाला माथि दोषारोपण गर्नु अन्याय पूर्ण रहेको जनाउँदै फार्मेसी सङ्घले स्वास्थ्य मन्त्रालय द्वारा माघ १५ गते जारी गरिएको विज्ञप्ति प्रति गम्भीर असन्तोष समेत व्यक्त गरेको छ ।
सङ्घले स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य सामग्रीको गुणस्तर प्रति सधैँ सचेत रहँदै आएको दाबी गर्दै पछिल्लो निर्देशन औषधि व्यवसायी माथि लक्षित गरी अन्याय पूर्ण रूपमा थोपर्न खोजिएको आरोप लगाएको छ ।
सङ्घका महासचिव युवराज भुसालद्वारा जारी विज्ञप्तिमा न्युट्रास्युटिकल्स उत्पादनहरूको विक्रय प्रक्रिया बारे समेत प्रश्न उठाइएको छ ।
विज्ञप्तिमा उल्लेख गरिए अनुसार, यी उत्पादनहरू खाद्य सामग्रीका रूपमा दर्ता गरिए पनि बिक्री गर्दा औषधिका रूपमा डाक्टरहरूको सिफारिसमा वितरण हुने गरेका छन्। यस्तो अवस्थामा मुख्य जिम्मेवार आयात कर्ता र डाक्टरहरू भए पनि कारबाही औषधि व्यवसायीलाई मात्र केन्द्रित गरिएको गुनासो सङ्घले गरेको छ ।
संघले औषधि ऐन, २०३५ को कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाइएको बताउँदै मन्त्रालयले डाक्टरहरूलाई अपवाद बनाउनु गलत भएको दाबी गरेको छ ।
‘यदि यी उत्पादनहरू गैरकानुनी हुन् भने, डाक्टरहरूलाई सिफारिस गर्न रोक लगाइनु पर्छ । अन्यथा, फार्मेसी व्यवसायीलाई मात्र दण्डित गर्नु अन्याय पूर्ण हुनेछ’, विज्ञप्तिमा उल्लेख छ ।
फार्मेसी सङ्घले आवश्यक परे यी उत्पादनहरू हटाउन तयार रहेको बताउँदै पक्षपाती नीतिहरूले स्वास्थ्य क्षेत्रलाई नकारात्मक असर पार्न सक्ने चेतावनी समेत दिएको छ । साथै, न्यायोचित कदम चाल्न स्वास्थ्य मन्त्रालय समक्ष माग समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस