स्वास्थ्य मन्त्रालयको भिटामिन, न्युट्रास्युटिकल्स मा कडा निगरानीः अवैध व्यापार विरुद्ध कदम
काठमाडौं – स्वास्थ्य मन्त्रालयले बजारमा भिटामिन, क्याल्सियम, आइरन, म्याग्नेसियम लगायत खनिज र सूक्ष्म पोषक तत्व मिश्रित औषधि (ट्याबलेट, क्याप्सुल, झोल) हरू न्युट्रास्युटिकल्सको नाममा बिक्री वितरण भइ रहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण गराएको छ ।
मन्त्रालयका अनुसार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यी सामग्रीलाई आहार पूरक सामग्रीका रूपमा दर्ता गरी बिक्री वितरण गर्न अनुमति दिएकोमा सर्वोच्च अदालतको २०८१ वैशाख ३ गतेको आदेशले यस्ता वस्तुहरूको बिक्री रोक्न निर्देशन दिएको छ ।
मन्त्रालयले औषधि व्यवस्था विभाग मार्फत अवैध उत्पादन र वितरणमा संलग्नलाई कारबाही गर्दै आएको र यस्तो कार्यलाई अझ कडाइका साथ नियन्त्रण गर्ने बताएकोछ।
अनुगमन र कारबाहीलाई तीव्रता
स्वास्थ्य मन्त्रालयले वार्षिक रूपमा ३,००० भन्दा बढी फार्मेसीहरूको अनुगमन गर्दै आएको र करिब १०० भन्दा बढी मुद्दाहरू जिल्ला अदालतमा दर्ता गरिएको जानकारी दिएको छ ।
यसै बीच, जन स्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ (२) अनुसार, ‘मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री वा सेवाको गलत तथा भ्रामक विज्ञापन गर्न नपाइने’ व्यवस्था उल्लङ्घन गर्ने संस्थाहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको छ ।
सरोकारवाला लाई मन्त्रालयको आग्रह मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूलाई ऐन बमोजिम काम गर्न र गलत तथा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार गर्ने कार्य रोक्न आह्वान गरेको छ । साथै, जनतालाई यस्ता अवैध क्रियाकलाप देखिएमा मन्त्रालयमा जानकारी गराउन अनुरोध गरिएको छ ।
गुनासो टिपाउन कहाँ सम्पर्क गर्ने?
गुनासो तथा सुझावका लागि मन्त्रालयले हेल्लो स्वास्थ्य कल सेन्टर १११५, WhatsApp र Viber नम्बर ९८५१३३०५९२, इमेल hellohealth@mohp=gov=np, र फेसबुक तथा एक्स (ट्विटर) @mohpnep को माध्यमबाट सम्पर्क गर्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयले यस्ता अवैध अभ्यास विरुद्ध कडा कदम चाल्दै सार्वजनिक स्वास्थ्य र उपभोक्ता सुरक्षाका लागि हर सम्भव प्रयास गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस