सरकार द्वारा तिन विषादीमा प्रतिबन्ध

सरकारले पाराक्वाट/प्याराक्वाट डाइक्लोराइड, क्लोरपाइरिफोस र फोरेट नामक तीन अति खतरनाक विषादीहरू को उत्पादन, संश्लेषण, आयात, निर्यात, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाएको छ ।


काठमाडौं– सरकारले पाराक्वाट/प्याराक्वाट डाइक्लोराइड, क्लोरपाइरिफोस र फोरेट नामक तीन अति खतरनाक विषादीहरू को उत्पादन, संश्लेषण, आयात, निर्यात, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाएको छ ।

सरकारले २०८१ मङ्सिर २० गते राजपत्रमा सूचना प्रकाशित गरी प्रतिबन्ध लगाएको हो । जन स्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सेफेड) ले सरकारको अति खतरनाक विषादी (Highly Hazardous Pesticides–HHPs) मा प्रतिबन्ध लगाउने निर्णयको स्वागत गरेको छ ।

सेफेड ले यी विषादी र विषाक्त रसायनहरूमा प्रतिवन्ध लगाउनु पर्ने माग लामो समयदेखि गर्दै आएको थियो । पाराक्वाट र क्लोरोपाइरिफोसको हकमा उत्पादन, संश्लेषण, आयात र निर्यातमा प्रतिबन्ध लगाउने निर्णय २०८१ मङ्सिर २० गतेदेखि लागू भएको छ । बाकी रहेका विषादीहरू पाराक्वाट र क्लोरपाइरिफोस दुई वर्षभित्र समाप्त/प्रयोग गरि सक्नु पर्नेछ ।

यो अवधि फोरेटलाई भने दिइएको छैन किनकी पहिले नै २०७२ साल असार २० गते यसलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो र यसै राजपत्रको सूचनामा समावेश गरी प्रकाशित गरिएको छ ।

यी तीन विषादीहरूलाई प्रतिबन्ध लगाउने सरकारले गरेको तत्काल र साहसिक निर्णयको प्रशंसा गर्दै सेफेडका कार्यकारी निर्देशक, वातावरण वैज्ञानिक राम चरित्र साहले नेपालमा आयात, बिक्री, वितरण र प्रयोग गर्न पाइने दर्ता भएका विषादीहरूको लामो सूची प्रति पनि समेत ध्यानाकर्षण गराएका छन् ।

हाल सम्म नेपालमा दर्ता भएका ३४.१५ प्रतिशत (१६४ मध्ये ५६ वटा) रासायनिक विषादीहरू स्वास्थ्य र वातावरणका लागि विषाक्त असरहरूको विरासतका कारण विश्वका एक वा एक भन्दा बढी देशहरूमा प्रतिबन्धित भैसकेका छन् । तर नेपालमा कानुनी रूपमै दर्ता भएर आयात, बिक्री, वितरण र प्रयोग गर्न पाइ रहनु दुर्भाग्य रहेको साह बताउँछन् ।

विषाक्त मुक्त भविष्यका लागि काम गरि रहेको अन्तर्राष्ट्रिय समुदायले समेत नेपालमा यस्ता विषाक्त विषादीहरूलाई प्रतिबन्ध लगाउने सरकारको कदमको प्रशंसा गरेको छ ।

इन्टर नेशनल पोल्युसन इलामिनेसन नेटवर्क (आइपेन) International Pollutants Elimination Network की सह अध्यक्ष पामेला मिलरले भनिन्, ‘यी अत्यधिक खतरनाक विषादीहरूको प्रतिबन्धले धेरैको जीवन बचाउनु का साथै नेपाल भरका श्रमिक, बालबालिका र समुदायको स्वास्थ्यको रक्षा गर्नेछ ।’

उनले पाराक्वाट, क्लोरपाइरिफोस र फोरेटको उत्पादन, संश्लेषण, आयात, निर्यात र प्रयोगको अन्त्य ले संसार भरका देशहरूको लागि एक महत्वपूर्ण नजिर स्थापित गरेको र जनस्वास्थ्य र वातावरणको सुरक्षाको लागि एक आवश्यक उपाय समेत रहेको बताइन ।

त्यस्तै, युरोपियन इन्भाइरोन्मेन्टल ब्यूरो European Environmental Bureau का केमिकल्सका पोलिसी म्यानेजर डोलोरेस रोमानोले भने, ‘अन्ततः प्याराक्वाट, क्लोरोपाइरिफोस र फोरेटको समय सकिएको छ। यी अत्यधिक खतरनाक विषादीहरूको अब भने नेपालमा ठाउँ छैन ।’

डोलोरेस ले नेपाल सरकारको यस सकारात्मक कदमको स्वागत गर्दै मानव स्वास्थ्य र वातावरण संरक्षणका लागि यस उदाहरणलाई अनुसरण गर्न अन्य देशहरूलाई समेत आग्रह गरेका छन् ।

सेफेडले विश्व भरि प्रतिबन्धित भएका सबै विषाक्त तर नेपालमा कानुनी रूपमै दर्ता भै आयात, बिक्री, वितरण र प्रयोग भैरहेका विषादीहरूलाई पनि प्रगतिशील रूपमा प्रतिबन्ध गर्दै जान आग्रह समेत गरेको छ ।

के हो क्लोरपाइरिफोस, पाराक्वाट /पाराक्वाट डिक्लोराइड, फोरेट ?

क्लोरपाइरिफोस जसलाई क्लोरपाइरिफोस इथाइल, विषादी पनि भनिन्छ, एक अर्गानोफोस्फेट कीटनाशक विषादी हो । जुन फसल र भवनहरूमा जनावरहरू, धेरै कीराहरू मार्नको लागि र अन्यमा पनि प्रयोग गरिन्छ ।

यसले एसिटाइलकोलिनेस्टरेज इन्जाइमलाई अवरोध गरेर कीराहरूको स्नायु प्रणालीमा असर गर्दछ । क्लोरपाइरिफोसको एक्सपोजर न्यूरोलोजिकल प्रभावहरू, लगातार विकासात्मक विकारहरू, र स्व–प्रतिरक्षित विकारहरू सँग जोडिएको छ ।

गर्भावस्थाको समयमा यसको एक्सपोजरले बच्चाहरूको मानसिक विकासमा हानि पुर्याउन सक्छ। नेपालको सन्दर्भमा खुर्सानी, बैंगन, टमाटर जस्ता विभिन्न तरकारीहरूमा यसको अवशेष भेटिएको छ र किसानहरू यस कीटनाशक विषादी बाट प्रभावित भइसकेका छन् ।

पाराक्वाट/पाराक्वाट डिक्लोराइड एक विषाक्त यौगिक हो, जुन विश्वव्यापी रूपमा सबैभन्दा व्यापक रूपमा प्रयोग हुने जडीबुटीहरू मध्ये एक हो । यो द्रुत रूपमा र गैर–चयनात्मक छ, सम्पर्कमा आऐका हरियो बिरुवाहरूलाई तत्काल मार्दछ ।

पाराक्वाट मानिस र जनावरका लागि विषाक्त (घातक) हो । मानिसले प्याराक्वाट खादा मुख, पेट र आन्द्रामा क्षति पुर्याउ छ । एक पटक अव शोषित भएपछि, प्याराक्वाटले फोक्सो, मृगौला र कलेजोमा विशेष क्षति पुर्याउँछ। प्याराक्वाट एक्सपोजर पार्किन्सन (क्षारे) रोगको विकास सँगै पनि जोडिएको छ।

फोरेट, एक अर्गानोफोस्फेट हो, जुन कीटनाशक र एकारिसाइडको रूपमा प्रयोग गरिन्छ । यो लक्षित जीवहरू र मानव लगायत स्तनधारी हरूको लागि धेरै विषाक्त छ । यसले एसिटाइलकोलिनेस्टरेज र ब्यूटिरेलकोलिनेस्टरेजलाई रोक्छ । केही मेटाबोलाइटहरू माटोमा जम्मा भएर रहन सक्छ । यसले बीउलाई पनि क्षति पुर्याउछ । फोरेट (थिमेट) सजिलै शरीरमा अव शोषित हुन्छ । यसको विषाक्तता उच्च छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!