विश्व औलो दिवस २०२५

डब्लुएचओको आह्वान : औलो अन्त्यका लागि प्रयासलाई पुनः उर्जावान बनाऔं


जिनेभा – विश्व औलो दिवस २०२५ को अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले औलो अन्त्य तर्फको प्रगतिलाई तीव्र पार्न सबै तहमा,  नीतिगत स्तरदेखि समुदायको सक्रियता सम्म, प्रयासलाई पुनः सशक्त बनाउने आह्वान गरेको छ।

सन् २००० यता विश्व भर झण्डै २ अर्ब औलोका घटनाहरू रोक्न र करिब १ करोड ३० लाख मानिसको ज्यान बचाउन गरिएको विश्वव्यापी सहकार्यको डब्लुएचओले प्रशंसा गरेको छ। अहिले सम्म ४५ देश र १ क्षेत्रलाई औलो मुक्त देशको प्रमाणपत्र दिइएको छ।

तर डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एडहानम गेब्रेयसस भन्छन्, ‘इतिहासले देखाएको छ, जब ध्यान अन्यत्र जान्छ, औलो फर्किन्छ र सबै भन्दा कमजोर माथि प्रभाव पार्छ। तर त्यही इतिहासले देखाउँछ, दृढ राजनीतिक इच्छा शक्ति, लगानी, बहु .क्षेत्रीय समन्वय र समुदायको सहभागिताले औलो अन्त्य गर्न सकिन्छ।’

नयाँ प्रविधिमा लगानीको फलस्वरूप प्रगति

औलो नियन्त्रणका लागि नयाँ खोप र प्रविधिमा गरिएको दीर्घकालीन लगानीको प्रभाव देखिन थालेको डब्लुएचओ बताउँछ। अफ्रिकाका २० देशहरूमा औलो खोपको सुरु भएको छ जसले लाखौं बालबालिकालाई ज्यान बचाउन मद्दत पुर्‍याउनेछ।

यसै गरी, नयाँ कीटनाशक युक्त झुलहरूको प्रयोगमा वृद्धिले पनि औको जोखिम घटाउने विश्वास गरिएको छ। सन् २०२३ मा उप-सहारा अफ्रिकामा वितरण गरिएका झुल मध्ये ८०% नयाँ प्रविधि प्रयोग भएका थिए।

चुनौती अझै कायम

यद्यपि प्रगति प्रशंसनीय छ, औलो अझै पनि विश्वका लागि गम्भीर सार्वजनिक स्वास्थ्य चुनौती बनेको छ। सन् २०२३ मा मात्र झण्डै ६ लाख मानिसले औलोका कारण ज्यान गुमाए, जस मध्ये ९५% अफ्रिकी क्षेत्रका थिए।

अस्वस्थ स्वास्थ्य प्रणाली, औषधि तथा कीटनाशक प्रतिरोध, जलवायु परिवर्तन, द्वन्द्व, गरिबी र विस्थापन जस्ता कारणले समस्या थपिएको छ। डब्लुएचओले चेतावनी दिएको छ कि सन् २०२५ मा गरिने अनुमानित बजेट कटौतीले धेरै देशहरूमा प्रगति प्रभावित पार्न सक्छ।

‘औलोको अन्त्य हामीबाट सुरू हुन्छ’

‘औलोको अन्त्य हामीबाट सुरू हुन्छ: पुनः लगानी, पुनः कल्पना, पुनः प्रेरणा’ भन्ने नारा सहित यस वर्षको औलो दिवसले राजनीतिक र वित्तीय प्रतिबद्धतालाई बढाउन जोड दिएको छ।

डब्लुएचओले औलो प्रभावित देशहरूलाई प्राथमिक स्वास्थ्य सेवामा घरेलु लगानी बढाउन आग्रह गरेको छ। साथै, नवीन औषधि, प्रविधि, कीटनाशक, खोप, तथा सेवा प्रवाहका विधिहरूमा सुधार ल्याउनका लागि सहकार्य र नवप्रवर्तन आवश्यक भएको उल्लेख गरिएको छ।

अफ्रिकाका ११ उच्च जोखिम राष्ट्रका स्वास्थ्य मन्त्रीहरूले मार्च २०२४ मा याउन्डे घोषणापत्र मा हस्ताक्षर गर्दै औलो विरुद्धको प्रयासलाई राष्ट्रिय प्राथमिकता बनाउने प्रतिबद्धता जनाएका छन्।

डब्लुएचओका विश्वव्यापी औलो कार्यक्रम निर्देशक डा. ड्यानियल नगामीजे भन्छन्, ‘यस्तो नेतृत्वमा नै विश्वले साथ दिनुपर्छ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!