चिकित्सक संघले देशभर आकस्मिक र सघन उपचार बाहेकका सेवा बहिष्कार गर्ने


काठमाडौं – आवासीय चिकित्सकहरूलाई निर्वाह भत्ता नदिएको र आन्दोलन प्रति सरकारको उदासीनता विरुद्ध नेपाल चिकित्सक संघले देशभरका अस्पताल, क्लिनिक, मेडिकल कलेज र स्वास्थ्य संस्थाहरूमा आकस्मिक तथा सघन उपचार सेवा बाहेकका सबै सेवा शुक्रबार बहिष्कार गर्ने निर्णय गरेको छ।

संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीद्वारा जारी विज्ञप्तिमा, आन्दोलनलाई थप सशक्त बनाउन वैशाख १२ गते शुक्रबार सबै चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई यो निर्णयमा ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो मागप्रति सरकारले हाल सम्म पनि कुनै ठोस पहल नगरेको हुँदा यो कदम चाल्नु परेको हो।’

उक्त दिन उपत्यका भित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बिहान ११:०० बजे माईतीघर मण्डलामा भेला भई स्वास्थ्य मन्त्रालय तर्फ मार्च गर्नेछन् भने उपत्यका बाहिर जिल्लामा रहेका चिकित्सकहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने कार्यक्रम रहेको जनाइएको छ।

संघले आन्दोलनमा जनतालाई पर्न सक्ने असुविधा प्रति क्षमा मागेको छ। साथै, उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार आफैले लिनुपर्ने चेतावनी पनि दिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!