स्वास्थ्य मन्त्री पौडेलको चेतावनी : ‘४८,७०० निर्वाह भत्ताको निर्णय कार्यान्वयन नगर्ने निजी मेडिकल कलेजका काम अघि बढ्दैन’

काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आन्दोलनरत आवासीय चिकित्सकहरूलाई सम्बोधन गर्दै ४८ हजार ७ सय रुपैयाँको निर्वाह भत्ता सम्बन्धी सरकारको निर्णयको कार्यान्वयनमा ढिलाइ हुनु स्वीकार्य नहुने चेतावनी निजी मेडिकल कलेजलाई दिएका छन्।
स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भने, ‘४८ हजार ७ सय दिनुपर्छ भन्ने कुरामा कुनै पुष्टि गर्नुपर्ने आवश्यकता छैन। यो निर्णय भइसकेको विषय हो। अब कार्यान्वयन मात्र बाँकी छ।’
उनले सरकारले निर्णय गरे पनि कतिपय अवस्थामा कार्यान्वयनमा समस्या देखिएको भन्दै त्यस प्रति गम्भीर चिन्ता व्यक्त गरे।
‘सरकारले पनि सोच्नु पर्यो, कसरी निर्णयहरू प्रभावकारी ढंगले अगाडि बढाउने। कार्यान्वयन नगर्ने पक्ष प्रति सरकार अब चुप लागेर बस्दैन,’ उनले स्पष्ट पारे।
चिकित्सा शिक्षा आयोगले गरेको निर्णयलाई निजी कलेज सञ्चालकहरूले नमानेको प्रसंग उल्लेख गर्दै उनले कडा चेतावनी पनि दिए। ‘सरकारको निर्णय नमान्नु भयो भने स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित तपाईंहरूको कुनै पनि काम अगाडि बढ्दैन,’ मन्त्री पौडेलको भनाइ थियो।
उनले निजी प्रतिष्ठानहरूलाई सरकारले लिएको निर्णय प्रति गम्भीर हुन आग्रह गर्दै कार्यान्वयन नगर्ने प्रवृत्ति विरुद्ध अब कडाइ गर्ने संकेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस