निजी मेडिकल कलेजहरू घाटामा छन् भन्नु भ्रामक : चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की को चुनौती

२४ घण्टा भित्र माग पुरा नभए देशभर स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी


काठमाडौं – नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले निजी मेडिकल कलेजहरूलाई आफूहरू घाटामा रहेको प्रमाणित गर्न खुला चुनौती दिएका छन्।

बुधबार काठमाडौंमा चिकित्सक संघको मुख्यालयमा आयोजित कार्यक्रममा उनले, ‘मेडिकल कलेजहरूले मुनाफा कमाइ रहेका छन् भन्ने तथ्य म प्रमाण सहित देखाउन तयार छु,’ भन्दै २८ दिनको बैलेन्स शीट सार्वजनिक गर्न कलेजहरूलाई आग्रह गरे।

आवासीय चिकित्सकहरूको निर्वाह भत्ता लगायतका विषयमा राज्यको ध्यानाकर्षण गराउँदै डा. कार्कीले भने, ‘स्वास्थ्य मन्त्री, शिक्षा .मन्त्री र प्रधानमन्त्रीलाई भनि सक्यौं -के राज्यले निजी मेडिकल कलेजहरूलाई दिइने सुविधा रोक्न सक्दैन? यदि साँच्चै घाटा भइ रहेको हो भने कसरी यस्ता घाटाका व्यवसायहरू थपिँदै गइरहेका छन्?’

डा. कार्कीले नेपाल चिकित्सक संघ राज्यको कठपुतली बन्न नदिने स्पष्ट गर्दै आरोप लगाए, ‘राज्य स्वयं बिचौलियाको भूमिकामा देखिन्छ। अब उसले आफ्नो निर्णय प्रष्ट पार्नै पर्छ।’

पैसाको प्रभावसँग लड्न गाह्रो भए पनि आफूहरू कमजोर नरहेको स्पष्ट पार्दै उनले भने, ‘यो देशमा पैसा सँगको लडाइँ कठिन छ, तर हामी झुक्दैनौं।’

उनले आन्दोलनरत आवासीय चिकित्सकहरूलाई आठौँ तह अनुसारको निर्वाह भत्ता सुनिश्चित गर्नु र आन्दोलनकै क्रममा सडकमा आएका चिकित्सकहरूलाई ससम्मान पुन: कार्यमा फर्काउने वातावरण निर्माण गर्नु चिकित्सक संघको मुख्य माग रहेको बताए।

डा. कार्कीले अन्त्यमा जोड दिए, ‘हाम्रो लडाइँ राज्यसँग हो – स्वास्थ्य मन्त्री, शिक्षामन्त्री र प्रधानमन्त्रीसँग हो।’

२४ घण्टा भित्र माग पुरा नभए देशभर स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीद्वारा जारी एक प्रेस विज्ञप्तिमा संघले विगत २८ दिनदेखि आन्दोलनरत चिकित्सकहरूको माग प्रति राज्यले देखाएको उदासीनता प्रति गम्भीर आपत्ति जनाएको छ।

संघको विस्तारित कार्य समिति र आन्दोलनरत चिकित्सकहरूको संयुक्त छलफल पछि बुधबार सार्वजनिक गरिएको विज्ञप्तिमा सरकारले ठोस पहल नगरेको भन्दै आक्रोश व्यक्त गरिएको छ।

संघको आरोप अनुसार चिकित्सा शिक्षा आयोगको १६औं पूर्ण बैठकको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। साथै आयोगले शैक्षिक कार्यक्रम अनुसार निजी तथा सरकारी प्रतिष्ठानमा एकैपटक म्याचिङ प्रक्रिया नगरेको कारण अहिलेको अन्योलपूर्ण अवस्था सिर्जना भएको बताइएको छ।

मिति २०८१ चैत ३१ गते संघले सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम पश्चात पनि कुनै ठोस कदम नचालिएको प्रति संघले गम्भीर ध्यानाकर्षण गराएको छ। आयोगको १८औं बैठकमा गरिएको आग्रह तथा सिफारिसहरूलाई समेत उपेक्षा गरिएकोमा संघले निराशा व्यक्त गरेको छ।

यता, आन्दोलनको नेतृत्व गरिरहेको संघप्रति कपोल कल्पित आरोप र अपमान जनक टिप्पणी गर्ने एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजका पदाधिकारीहरूको अभिव्यक्ति प्रति घोर आपत्ति जनाउँदै संघले आरोप पुष्टि गर्न खुला चुनौती समेत दिएको छ।

संघले आन्दोलन थप सशक्त बनाउने योजना अन्तर्गत निजी मेडिकल कलेजका चिकित्सकहरुलाई आकस्मिक तथा सघन उपचार सेव बाहेक अन्य सम्पूर्ण काम छोडेर आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ। साथै, मिति २०८२ वैशाख ११ गते बिहान १० देखि १२ बजेसम्म देशभरका चिकित्सकहरुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा उपत्यकाका चिकित्सकहरुलाई माइतीघरमा भेला भई स्वास्थ्य मन्त्रालय घेराउ गर्न आह्वान गरिएको छ।

यदि २४ घण्टाभित्र आन्दोलनकारी चिकित्सकहरूको माग सम्बोधन नभए २०८२ वैशाख १२ गते देशभरिका  आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी संघले दिएको छ। संघले सर्वसाधारणमा पर्न सक्ने असुविधा प्रति क्षमा माग्दै सोको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने स्पष्ट पारेको छ।

नेपाल चिकित्सक संघले चिकित्सकहरूको आत्मसम्मानका लागि गरिएको आन्दोलनमा देशभरका नागरिक, नागरिक समाज, पेशागत संगठन, मेडिकल सोसाइटी, बुद्धिजीवी तथा पत्रकारहरूसँग ऐक्यबद्धता जनाउन अपिल गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!