सुर्तीजन्य पदार्थमा कर वृद्धि र नियन्त्रणको माग

काठमाडौं – नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण वर्षेनी ३० हजार मानिसको मृत्यु भइरहेका बेला सरकारले सुर्ती नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने माग सहित नेपाल हेल्थ केयर पत्रकार समाज र स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल ले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएका छन्।
नेपालका ५७ जिल्लामा सक्रिय स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल र स्वास्थ्य पत्रकारहरुको साझा संस्था नेपाल हेल्थ केयर पत्रकार समाजले संयुक्त रूपमा मन्त्री पौडेललाई बुझाएको ज्ञापन पत्रमा सुर्तीजन्य पदार्थमा कम्तीमा ६० प्रतिशत कर लगाउन माग गरिएको छ ।
ज्ञापन पत्रमा नेपाल हेल्थ केयर पत्रकार समाजका अध्यक्ष अतुल मिश्र र स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका संयोजक शान्तलाल मुल्मीले हस्ताक्षर गरेका छन्।
ज्ञापन पत्रमा उल्लेख भए अनुसार हाल नेपालमा सुर्तीजन्य वस्तुमा करको दर मात्र ३३ प्रतिशत रहेको छ, जुन विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसारको ७५ प्रतिशतको तुलनामा निकै कम हो।
संस्थाहरुले जनस्वास्थ्यको रक्षा, नसर्ने रोगको नियन्त्रण तथा स्वास्थ्य क्षेत्रमा खर्च घटाउन सुर्तीजन्य पदार्थमा कर वृद्धिको विकल्प नरहेको स्पष्ट पारेका छन्। उनीहरूले भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको उदाहरण दिँदै नेपालमा पनि करको दर तत्काल बढाउनुपर्ने माग गरेका छन्।
‘अहिलेको अवस्थामा कर वृद्धिको दर मात्र ४ प्रतिशत छ, जुन मुद्रास्फीति दरभन्दा पनि कम छ। यसले सुर्ती नियन्त्रणमा सरकारको गम्भीरता नदेखिएको प्रमाणित गर्छ,’ ज्ञापनपत्रमा भनिएको छ।
ज्ञापन पत्र मार्फत संस्थाहरुले आगामी आर्थिक वर्ष २०८१/८२ देखि सुर्तीमा करको दर कमसे कम ६० प्रतिशत पुर्याउन, इलेक्ट्रोनिक सिगरेटमा पूर्ण प्रतिबन्ध लगाउन र सार्वजनिक स्थानहरूलाई सुर्ती निषेधित क्षेत्र घोषणा गर्न आग्रह गरेका छन्।
ज्ञापन पत्रमा सरकारले भाद्र १ गतेदेखि सुर्तीजन्य वस्तुका प्याकेटमा शत प्रतिशत स्थानमा स्वास्थ्य चेतावनी दिने निर्णयलाई स्वागत गर्दै ऐक्यवद्धता समेत जनाइएको छ।
प्रतिक्रिया दिनुहोस