स्वास्थ्य क्षेत्रका संघ संगठनद्वारा छुट्टै सेवा आयोग गठनको माग


काठमाडौं – स्वास्थ्य क्षेत्रमा कृयाशील विभिन्न ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुले स्वास्थ्य क्षेत्रको समस्या प्रति गम्भिर ध्यानाकर्षण गराउँदै छुट्टै स्वास्थ्य सेवा आयोग गठनको माग गरेका छन्।

स्वास्थ्यमा कृयाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको समूहले आइतबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रलाई निजामती सेवामा समावेश गर्ने तयारी प्रति आपत्ति जनाएका हुन्।

नेपाल चिकित्सक संघ लगायतका स्वास्थ्य क्षेत्रका संघ संस्थाहरुले निजामती ट्रेड युनियनहरुले २०८१ सालको चैत १५ र ३१ गते संयुक्त रुपमा सार्वजनिक गरेको प्रेस विज्ञप्ति प्रति असन्तुष्टि जनाउँदै स्वास्थ्य सेवा विशिष्ट प्रकृतिको सेवा भएकाले छुट्टै संरचना आवश्यक भएको स्पष्ट पारेका छन्।

संविधानले स्वास्थ्यलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै विज्ञप्तिमा प्राविधिक र संवेदनशीलताको दृष्टिले स्वास्थ्य क्षेत्रलाई निजामती ऐनको दायरामा नराखी ‘एकीकृत स्वास्थ्य सेवा ऐन’ अन्तर्गत छुट्टै सेवा आयोग गठन गर्न माग गरिएको छ।

स्वास्थ्य क्षेत्रमा चाहिने प्राविधिक, प्रशासनिक, लेखा लगायतका कर्मचारीहरुको व्यवस्थापन, नियुक्ति, पदस्थापन तथा सरुवाको अधिकार छुट्टै स्वास्थ्य सेवा आयोग मार्फत हुनुपर्ने माग संगठनहरुले गरेका छन्।

‘यदि हाम्रो माग प्रति गम्भिर ध्यान नदिएमा हामी बाध्य भएर आन्दोलनमा उत्रने छौं’, स्वास्थ्यमा कृयाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको समूह द्वारा जारी विज्ञप्तिमा सदस्य सचिव माइकल देवकोटा र संयोजक डा. अनिल विक्रम कार्कीले चेतावनी दिएका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!