नयाँ बानेश्वर स्थित एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना


काठमाडौँ — नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालले फोहर व्यवस्थापनमा पटक–पटक लापर्वाही गरेपछि काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने पत्र पठाएको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले अस्पतालबाट निस्कने हानीकारक फोहर उचित तरिकाले व्यवस्थापन नगरेको पाइए पछि वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७ बमोजिम कारबाही गरिएको जनाएको छ। विभाग प्रमुख सरिता राईका अनुसार सुधारका लागि पटक–पटक मौका दिँदा समेत बेवास्ता गरेकाले अस्पताललाई जरिवाना गराइएको हो।

उक्त ऐन अनुसार रसायनिक, औद्योगिक, स्वास्थ्य संस्थाजन्य वा अन्य जोखिमयुक्त फोहर जथाभावी फाल्ने वा निष्कासन गर्ने व्यक्तिलाई ५० हजार देखि १ लाख रुपैयाँ सम्म जरिवाना गर्ने प्रावधान छ। उही गल्ती पुनः दोहोर्याएमा पहिलो जरिवानाको दोब्बर रकम असुल्ने र आवश्यक भएमा अनुमति रद्द गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने व्यवस्था समेत छ।

एभरेष्ट अस्पतालको फोहर व्यवस्थापन अनुगमन यो वर्ष मात्रै तीन पटक र विगतका अनुगमन समेत जोड्दा ६ पटक भन्दा बढी गरिसकिएको छ। अनुगमनका क्रममा सुधारका लागि सुझाव दिइए पनि अस्पतालले बेवास्ता गर्दै आएको पाइएको छ ।

विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइरालाका अनुसार, गएको असोज ३ गतेको अनुगमनमा समेत सुधार नदेखिए पछि असोज १४ गते अस्पतालका अधिकारीलाई बोलाई मापदण्डबारे जानकारी दिइएको थियो। अस्पतालले फोहर व्यवस्थापन जिम्मा तेस्रो पक्षलाई दिएको भन्दै बचाउ गरे पनि महानगरपालिकाले हानीकारक फोहरको जिम्मेवारी स्वास्थ्य संस्थाले आफैं लिनुपर्ने स्पष्ट पारेको छ।

२०७९ सालमा गरिएको अनुगमनमा समेत त्रुटि भेटिए पछि ९ बुँदे सुधार सुझाव सहित पत्र पठाइएको थियो। तर, अस्पतालले अझै ती सुझाव कार्यान्वयन गर्न सकेको छैन। फोहर वर्गीकरणका लागि छुट्टै कोठा बनाइएको छैन, फोहर थुपार्ने ठाउँमा स्पष्ट संकेत नदेखिएको र वर्गीकरणका लागि प्रयोग हुने बाल्टिनको रङ्ग संकेत समेत उपेक्षा गरिएको पाइएको छ।

त्यस्तै, शौचालयको ढोकामा हानीकारक फोहर राख्ने रातो बाल्टिन राखिएको, अटोक्लेभ मेसिन विग्रिएर लामो समय सम्म मर्मत नगरिएको, हाल मेसिन भएको भए पनि त्यसको प्रयोग विधि मिलाउन नसकेको अनुगमन टोलीले जनाएको छ।

शल्यक्रिया र प्रसुति जस्ता संवेदनशील प्रक्रियाबाट निस्कने फोहर समेत बिना सुरक्षा बट्टामा प्याक गरेर राखिएको पाइएको छ, जुन मापदण्ड विपरीतको गम्भीर लापर्वाही हो।

फोहर संकलन कक्षमा भेन्टिलेसनको व्यवस्था नराखिएकोले स्वास्थ्य जोखिम समेत बढेको छ। फोहर वर्गीकरणमा संलग्न कर्मचारीले पनि काम गर्दा गन्ध र गर्मीका कारण असहज हुने गुनासो गरेका छन्।

फोहोर व्यवस्थापनको क्रममा स्रोतमा वर्गीकरण नगर्ने, संकलन र भण्डारण प्रक्रियामा सुरक्षाको ध्यान नदिने जस्ता समस्याले अस्पतालको लापर्वाही स्पष्ट देखिएको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले निष्कर्ष निकालेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!