स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन, स्वदेश र विदेश गरी११ सय भन्दा बढी सहभागिता

काठमाडौँ – ‘स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समतमूलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली’, भन्ने नारा सहित ११औं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन बिहीबार बाट राजधानी काठमाडौँमा सुरु हुँदैछ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ले आफ्नो स्थापनाको ३४ औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको यो सम्मेलन तीन दिन चल्नेछ।
परिषद्का कार्यकारी प्रमुख डा. प्रमोद जोशीले यो सम्मेलन केवल औपचारिक कार्यक्रम मात्र नभई भविष्यको स्वास्थ्य नीतिको दिशा निर्देशक बन्ने अपेक्षा गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए।
कार्यक्रममा प्राप्त २७६ वैज्ञानिक सारांश मध्ये बाट छानिएका ८७ मौखिक र ११५ पोस्टर प्रस्तुतिहरू सम्मेलनको बौद्धिक गहिराइलाई अझ प्रस्ट पार्ने औल्याउँदै डा. जोशी ले भने – ‘यी सबै छलफलले नेपालमा प्रमाणमा आधारित नीति निर्माणलाई बल पुर्याउने परिषद्को विश्वास छ।’
सम्मेलनमा स्वदेश तथा विदेशबाट ११ सय भन्दा बढी वैज्ञानिक, नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार र संस्थागत प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ।
यस्तै भारत, चीन, युके, स्विजरल्यान्ड, जर्मनी, अमेरिका लगायतका मुलुकबाट विज्ञहरू भौतिक र भर्चुअल माध्यम मार्फत सम्मेलनमा विचार आदान प्रदान गर्न जुट्नेछन्।
यस वर्ष सम्मेलन विशेष गरी जलवायु परिवर्तनको असरले स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव, स्वास्थ्य प्रणालीको लचकता, स्वास्थ्य सेवामा समावेशिता, मानसिक स्वास्थ्य, जनशक्तिको पलायन, बीमा प्रणाली र अनुसन्धानको नियमनजस्ता ज्वलन्त विषयमा केन्द्रित हुने छ ।
सम्मेलनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन विभिन्न समितिहरू गठन गरिएको छ । सम्मेलनको उद्घाटन समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुने छिन्।
प्रतिक्रिया दिनुहोस