अन्तर्राष्ट्रिय सहयोग बिना समावेशी स्वास्थ्य सम्भव छैन : स्वास्थ्यमन्त्री प्रदीप पौडेल

संयुक्त राष्ट्रसंघीय सत्रमा नेपालको स्वास्थ्य उपलब्धि र चुनौतीबारे स्वास्थ्यमन्त्रीको धारणा


काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले जनसंख्या तथा विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगको ५८औं सत्रमा सम्बोधन गर्दै नेपालको स्वास्थ्य क्षेत्रमा हासिल प्रगति तथा सामना गरिरहेका चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका छन्।

संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा आयोजित उक्त सत्रमा उनले पछिल्ला तीन दशकमा नेपालले मातृ मृत्यु, किशोरावस्थाको जन्मदर, बालविवाह तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचकहरूमा उल्लेख्य सुधार गरेको उल्लेख गरे।

‘नेपाल हरेक नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ प्रतिबद्ध छ,” मन्त्री पौडेलले भने, “तर यो लक्ष्य अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता बिना हासिल गर्न सकिन्न।’

स्वास्थ्य मन्त्रीले ग्रामीण क्षेत्रमा अझै पर्याप्त स्वास्थ्य पूर्वाधारको अभाव रहेको, बजेट सीमित रहेको तथा प्रति व्यक्ति स्वास्थ्य खर्च विश्व औसत भन्दा कम भएको उल्लेख गरे।

मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण स्वास्थ्य प्रणाली थप दबाबमा परेको भन्दै आपतकालीन अवस्थाहरू सामना गर्न प्रणालीलाई लचिलो बनाउने आवश्यकता औंल्याए। ‘जलवायु संकटसँगै स्वास्थ्य सेवा पनि सजग र सबल हुनुपर्नेछ,’ उनले भने।

विकास सहयोगमा आएको घटदो प्रवृत्ति प्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा लगानी बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे। निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे। पाँच दिनसम्म चल्ने उक्त सत्रमा मन्त्री पौडेल नेपालको नेतृत्व गर्दै सहभागी छन्।

सत्रको सन्दर्भमा मन्त्री पौडेलले न्यूयोर्क स्थित नेपाली समुदाय सँग अन्तरक्रिया गरी स्वास्थ्य सेवा सुधारका लागि सुझाव संकलन गर्ने कार्यक्रम समेत रहेको, राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले जानकारी दिएका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!