स्वास्थ्य बिमा लाई नयाँ आर्थिक स्रोत प्राप्त हुने बाटो खुल्यो

काठमाडौं – स्वास्थ्य बिमा बोर्डलाई नयाँ आर्थिक स्रोत प्राप्त हुने मार्ग खुलेको छ । स्वास्थ्य बिमा सुधारका लागि वित्तीय स्रोत अभिवृद्धिका विविध उपायहरू खोजी गरिरहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय गरेका छन्।
मन्त्री स्तरीय निर्णय अनुसार, स्वास्थ्य बिमा ऐनमा व्यवस्था भए तापनि हालसम्म प्रभावकारी रूपमा कार्यान्वयनमा नआएको स्वास्थ्य बिमा कोषलाई सक्रिय बनाई सो रकम कोष मार्फत व्यवस्थित रूपमा संकलन गरिनेछ । स्वास्थ्य मन्त्रालयको यस निर्णयलाई अर्थ मन्त्रालयले समेत अनुमोदन गरिसकेको छ ।
यस नीति गत परिवर्तन सँगै स्वास्थ्य बिमा बोर्डलाई नयाँ आर्थिक स्रोत प्राप्त हुने मार्ग खुलेको हो । हाल सम्म कोष नै प्रभावकारी रूपमा सञ्चालनमा नआउँदा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने बजेट नै कोषको प्रमुख आर्थिक आधार रहँदै आएको थियो ।
नयाँ निर्णय सँगै कोषमा नियमित रूपमा रकम संकलन हुने हुँदा स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । मन्त्री पौडेलले स्वास्थ्य बिमा कोषलाई बलियो बनाएर मात्र यस कार्यक्रमको प्रभावकारिता बढाउन सकिने स्पष्ट पारेका छन् ।
‘स्वास्थ्य बिमा कोषलाई सुदृढ बनाउन विभिन्न सुधारात्मक कदमहरू चालिरहेका छौं । यो निर्णय तिनै सुधार मध्ये एक महत्वपूर्ण हिस्सा हो’, स्वास्थ्य मन्त्री पौडेलले भने ।
आगामी दिनमा स्वास्थ्य बिमा सुधार सुझाव कार्य दलको प्रतिवेदनका आधारमा थप सुधारका कार्यहरू अघि बढाइने समेत मन्त्री पौडेलले जनाएका छन् ।
कोष सुदृढीकरणका लागि थप उपाय
मन्त्री पौडेलले स्वास्थ्य बिमाका लागि वित्तीय स्रोत विस्तार गर्न तल उल्लेख गरिए अनुसारको अन्य विविध रणनीतिहरू समेत प्रस्तुत गरेका छन् ।
- प्रगतिशील प्रिमियम प्रणालीः बिमा शुल्कलाई आम नागरिकको आयस्तर अनुसार समायोजन गर्ने नीति।
- सरकारी उपचार सहायताः राज्यका विभिन्न स्वास्थ्य बिमा योजनाबाट प्राप्त हुने रकमलाई कोषमा एकीकृत गर्ने।
- सरकारी कर्मचारीहरूको योगदानः राज्यबाट तलब खाने कर्मचारीहरूको तलबको एक प्रतिशत कर्मचारी स्वयंले योगदान गर्ने र थप एक प्रतिशत राज्यले कोषमा जम्मा गर्ने।
- स्वास्थ्यमा असर पार्ने पदार्थमा करः मदिरा, सुर्ती जन्य पदार्थ तथा स्वास्थ्यमा हानि गर्ने वस्तुहरूमा लगाइने करको केही अंश स्वास्थ्य बिमा कोषमा समावेश गर्ने।
प्रतिक्रिया दिनुहोस