वन हेल्थ सम्मेलन

विश्वव्यापी स्वास्थ्य चुनौतीः एण्टिमाइक्रोबियल रेसिस्टेन्स स्वास्थ्यमा असर मात्र नभइ आर्थिक क्षति समेत


काठमाडौं – एण्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) एक गम्भीर विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा उदाएको छ, जसले नेपाल लगायत विश्व भरका स्वास्थ्य प्रणालीमा गम्भीर असर पार्ने तथा मृत्यु दर बढाउने मात्र नभई आर्थिक रूपमा ठूलो क्षति पुर्याउने जोखिम निम्त्याउने विज्ञहरूले चेतावनी दिएका छन्।

अनुमान अनुसार सन् २०५० सम्ममा एएमआरका कारण विश्वव्यापी आर्थिक उत्पादनमा वार्षिक रूपमा १७ खर्व (१.७ ट्रिलियन) अमेरिकी डलर बराबरको क्षति हुन सक्नेछ, जुन विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडीपी) मा ०.८८ प्रतिशत गिरावट बराबर हुनेछ।

नेप्लिज एसोसिएसन अफ क्लिनिकल माइक्रोबाइलोजिस्ट र फ्लेमिङ फन्ड कन्ट्री ग्रान्ट नेपालद्वारा संयुक्त रूपमा आयोजित दुई दिने ‘वन हेल्थ’ सम्मेलनमा एएमआरको गम्भीर प्रभावबारे विज्ञहरूले प्रकाश पारेका छन्।

सम्मेलनमा प्रस्तुत तथ्याङ्क अनुसार सन् २०१९ मा एएमआरका कारण १२ लाख ७० हजार मानिसको प्रत्यक्ष र ४९ लाख ५० हजार मानिसको अप्रत्यक्ष मृत्यु भएको थियो।

दक्षिण पूर्वी एसियामा मात्रै सोही वर्ष ९७ हजारभन्दा बढी व्यक्तिको मृत्यु एएमआरका कारण भएको देखिएको छ । यदि उचित नियन्त्रणका उपायहरू अवलम्बन गरिएन भने सन् २०५० सम्म वार्षिक मृत्यु दर २० लाख पुग्न सक्ने अनुमान गरिएको छ।

सम्मेलनका सहभागीहरूले एण्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) को प्रभाव रोक्न अविलम्ब प्रभावकारी नीति निर्माण, औषधिको विवेकशील प्रयोग, तथा प्रभावकारी सङ्क्रमण नियन्त्रण रणनीति आवश्यक रहेको जनाएका छन् ।

एएमआर विरुद्धको लडाइमा सरकार, चिकित्सा क्षेत्र, कृषि क्षेत्र, तथा आम नागरिक सबैको समन्वय अनिवार्य छ । यदि यथा शीघ्र ठोस कदम चालिएन भने एएमआरले नेपालमा समेत स्वास्थ्य सङ्कट निम्त्याउने प्रबल सम्भावना रहेको सम्मेलनमा सहभागी विज्ञहरूले चेतावनी दिएका छन्।

सम्मेलनका आयोजक सचिव प्रा.डा. विजेन्द्र राज रघुवंशीका अनुसार एएमआर नियन्त्रणका लागि नवप्रवर्तनात्मक समाधानहरू खोज्न यो सम्मेलन महत्वपूर्ण रहेको छ । यसले विशेषज्ञ, नीति निर्माताहरू, र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याई नेपाल र अन्तर्राष्ट्रिय समुदाय बीच सहकार्यलाई सशक्त बनाउने तथा स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउने अवसर सिर्जना गर्ने विश्वास गरिएको छ ।

एएमआर के हो? 

एएमआर तब विकसित हुन्छ जब ब्याक्टेरिया, भाइरस, फङ्गस र परजीवीहरू समय क्रममा परिवर्तन भएर तीव्र प्रतिरोधी बन्न पुग्छन्, जसका कारण एन्टिमाइक्रोबियल औषधिहरूको प्रभाव घट्दै जान्छ। यसको परिणाम स्वरूप सामान्य संक्रमणको उपचार कठिन बन्छ, रोग फैलिने सम्भावना बढ्छ, र मृत्यु दर उच्च हुन सक्छ।

किन नेपालमा नेपालमा एएमआर बढ्दै छ ? 

विज्ञहरूको अनुसार नेपालमा एन्टिबायोटिक्सको अधिक प्रयोग र दुरुपयोग मुख्य रूपमा एएमआर बढाउने एउटा कारकको रूपमा देखिएको छ । यस्तै मुलुकमा स्वास्थ्य सेवा प्रणालीमा कमजोर सङ्क्रमण नियन्त्रण उपायहरू, निगरानी प्रणाली र नियमनको अभाव समेत एएमआर बढाउन मा मलजल गरिरहेको छ । यति मात्र नभइ कृषि तथा पशुपालनमा एन्टिबायोटिक्सको प्रयोगले गर्दा खाद्यमा एन्टिबायोटिक अवशेषहरू र प्रतिरोधी जीवाणुहरू बढ्दै जानु र सार्वजनिक सचेतनाको कमीले समेत एएमआर नेपालमा वृद्धि भइ रहेको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!