सर्वोच्च अदालतले स्वास्थ्य सचिव नियुक्ति प्रक्रिया सम्बन्धी निर्णय फाइल माग्यो

काठमाडौं – स्वास्थ्य सचिव नियुक्ति सम्बन्धी विवाद मा सर्वोच्च अदालतले नियुक्ति प्रक्रिया सम्बन्धी निर्णय फाइल पेश गर्न आदेश दिएको छ।
स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रले आफूलाई वरिष्ठता अनुसार सचिव पद नदिइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
उक्त रिटमाथि शुक्रबार भएको सुनुवाइ पछि सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियुक्ति प्रक्रिया सम्बन्धी सम्पूर्ण कागजात झिकाउन आदेश दिएको हो। न्यायाधीश तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले फाइल मगाउने आदेश जारी गरेको हो।
यसअघि, चैत ३ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।
२१ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त सचिव डा. विकास देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। तर, वरिष्ठताको आधारमा आफू लाई सचिव नियुक्त नगरिएको भन्दै डा. मिश्रले असन्तुष्टि जनाउँदै चैत १ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
स्वास्थ्य मन्त्रालयमा सचिव पद रिक्त भए पछि लोक सेवा आयोगले तीन अतिरिक्त सचिव, डा. संगीता कौशल मिश्र, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।
मन्त्रिपरिषद्ले डा. देवकोटालाई नियुक्त गरेपछि डा. मिश्रले विरोध जनाउँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आफूलाई पटक पटक अन्याय गरेको आरोप लगाएकी थिइन्। उनले मन्त्री पौडेलको राजीनामा समेत मागेकी छिन्।
प्रतिक्रिया दिनुहोस