संयुक्त राष्ट्रसङ्घीय आयोगले डब्लुएचओको सिफारिस अनुसार साइकोएक्टिभ पदार्थहरूलाई अन्तर्राष्ट्रिय नियन्त्रणमा राख्ने

जेनेभा–विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सिफारिसहरूलाई अनुसरण गर्दै, संयुक्त राष्ट्र नार्कोटिक ड्रग्स आयोग (सिएनडी) ले पाँच नयाँ साइकोएक्टिभ (मस्तिष्क लाई प्रभावित पार्ने) पदार्थहरू र एक औषधिलाई अन्तर्राष्ट्रिय नियन्त्रण अन्तर्गत राख्ने निर्णय गरेको छ ।
यी सिफारिसहरू लागू औषधमा निर्भरता सम्बन्धी विज्ञ समिति (इसीडीडी) द्वारा विकसित गरिएको थियो, जसमा विश्व भरका विज्ञहरूले साइकोएक्टिभ पदार्थहरूको स्वास्थ्य जोखिम र फाइदाहरूको विश्लेषण गर्छन् । यदि प्रमाणहरूबाट यी पदार्थहरूले जनस्वास्थ्यलाई हानी पुर्याउन सक्छ भन्ने देखिएमा तिनिहरूलाई अन्तर्राष्ट्रिय नियन्त्रणमा राख्न डब्लुएचओले चेतावनी दिन्छ ।
डब्लुएचओ का अधिकारीको प्रतिक्रिया
‘यी पदार्थहरू डब्लुएचओ को ध्यानाकर्षणमा ल्याइएको थियो किन भने तिनिहरू गोप्य रूपमा उत्पादन गरिएका छन्, सार्वजनिक स्वास्थ्य र समाजका लागि गम्भीर जोखिम उत्पन्न गर्छन् र कुनै मान्य चिकित्सा उपयोग छैन’, डब्लुएचओका स्वास्थ्य उत्पादन नीति र मापदण्ड निर्देशक डा. ड्यूस मुवाङ्गिजीले भने ।
उनले नगाडी थपे–‘हामी खुसी छौ कि लागू औषध नियन्त्रण आयोगले डब्लुएचओका सबै सिफारिसहरू स्वीकार गरेको छ र यी पदार्थहरूलाई १९६१ वा १९७१ को सन्धिहरूमा सम्बन्धित सूचीमा समावेश गरेको छ ।’
नयाँ प्रतिबन्धित पदार्थहरू
१९६१ को लागू औषध महा सन्धिको अनुसूची १ मा राखिएका पदार्थहरूः
- एन–पाइरोलिडिनो प्रोटोनिटाजिन (N-Pyrrolidino protonitazene ): एक कृत्रिम ओपिओइड, जसको सेवनले गम्भीर हानी पुर्याउन सक्छ, जसमा मृत्यु पनि सामेल छ ।
- एन–फाइरोलिडिनो मेटोनिटाजिन (N-Pyrrolidino metonitazene): अर्को कृत्रिम ओपिओइड, जसको प्रयोग इन्जेक्सन मार्फत गरिन्छ र यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
- इटोनिटाजेपिपाइन (etonitazepipne, N–piperidinyl etonitazene): एक कृत्रिम ओपिओइड जसको प्रयोगले मृत्यु समेत निम्त्याउन सक्छ।
- एन–डेसइथाइल आइसोटोनिटाजेन (N-Desethyl isotonitazene) :नक्कली औषधिहरूमा भेटिने कृत्रिम ओपिओइड जसले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउँछ।
१९७१ को साइकोएक्टिभ पदार्थ महा सन्धिको अनुसूची २ मा राखिएको पदार्थः
हेक्साहाइड्रोक्यानाबिनोल (Hexahydrocannabinol – HHC) :एक अर्ध–कृत्रिम क्यानाबिनोइड, जसको प्रयोग सार्वजनिक स्वास्थ्य र सामाजिक समस्याको रूपमा देखिएको छ।
१९७१ को साइकोएक्टिभ पदार्थ महा सन्धिको अनुसूची ४ मा राखिएको पदार्थः
क्यारीसोप्रोडोल (Carisoprodol) :एक मांसपेशी रिल्याक्सेन्ट जसको गैर चिकित्सकीय प्रयोग स्वास्थ्यका लागि जोखिम पूर्ण छ।
डब्लुएचओ को प्रतिबद्धता
डब्लुएचओ ले ७० वर्षभन्दा बढी समयदेखि इसीडीडी लाई वैज्ञानिक सल्लाहकार निकायका रूपमा संयोजन गर्दै आएको छ । यसको उद्देश्य हानिकारक पदार्थहरूबाट जोगाउनु तथा आवश्यक ठाउँमा चिकित्सा र वैज्ञानिक प्रयोगका लागि साइकोएक्टिभ पदार्थहरूको उपलब्धता सुनिश्चित गर्नु हो ।
संयुक्त राष्ट्रसङ्घीय लागू औषध नियन्त्रण आयोगको ६८ औ नियमित सत्र १०–१४ मार्च २०२५ मा अस्ट्रियाको भिएनामा सम्पन्न भयो, जसमा माथि उल्लिखित निर्णयहरू घोषणा गरियो ।
प्रतिक्रिया दिनुहोस