मुलुकमै सबैभन्दा बढी मृगौला प्रत्यारोपण गर्ने डा. पुकारचन्द्र श्रेष्ठ सम्मानित

ललितपुर— वरिष्ठ अंग प्रत्यारोपण विशेषज्ञ तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर का कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ विश्व मिर्गौला दिवसको अवसरमा सम्मानित भएका छन्।
बुधवार ललितपुरमा आयोजित १५औँ नेपाल प्रत्यारोपण खेलकुद तथा सांगितिक कार्यक्रममा मिर्गौला पीडित सरोकार समाज को तर्फ बाट स्वास्थ्य मन्त्री प्रदीप पौडेल र समाजका अध्यक्ष बलराम सुवेदीले डा. श्रेष्ठलाई सम्मान गरेका हुन्।
नेपालमै सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने शल्य चिकित्सकका रूपमा परिचित डा. पुकारले हाल सम्म १४ सय भन्दा बढी मिर्गौला प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरिसकेका छन्।
डा. पुकारले नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने ऐतिहासिक कार्यमा समेत महत्वपूर्ण योगदान दिएका छन्।
कार्यक्रममा मन्त्री पौडेलले मिर्गौला तथा कलेजो प्रत्यारोपणको क्षेत्रमा डा. पुकार र प्रत्यारोपण केन्द्रले पुर्याएको योगदानको प्रशंसा गरे । स्वास्थ्य मन्त्रीले प्रत्यारोपित बिरामीहरूको समस्या समाधानका लागि सरकारको तर्फबाट सक्दो सहयोग गरिने आश्वासन समेत दिए।
डा. पुकारले केन्द्रले उपचार सेवा सँगै समय समयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले प्रत्यारोपणको स्थिति सम्म आउन नदिन व्यक्तिले सकारात्मक जीवन शैली र नियमित रुपमा मृगौला को स्वास्थ्य जाँच गर्नुपर्ने आवश्यक रहेको बताए ।
खेलकुद तथा संगीत कार्यक्रममा विभिन्न सांगितिक प्रस्तुति समेत आयोजना गरियो । उक्त कार्यक्रम अघि पाटन दरबार स्क्वायर बाट सुरु भएको जनचेतना मूलक र्याली लगनखेलमा आएर समापन भएको थियो।
प्रतिक्रिया दिनुहोस