विश्व श्रवण दिवस २०२५ : सबैका लागि श्रवण स्वास्थ्यलाई प्राथमिकता दिन आह्वान


काठमाडौं –विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक साइमा वाजेद ले हरेक वर्ष मार्च ३ मा मनाइने विश्व श्रवण दिवस को अवसरमा सबैका लागि कान र श्रवण सेवाको महत्वबारे सचेतना फैलाउने आह्वान गरेकी छिन ।

यस वर्ष, ‘मानसिकता बदलौं : कान र श्रवण सेवालाई सबैका लागि वास्तविकता बनाऔं’, भन्ने नाराका साथ, समुदाय, स्वास्थ्य प्रणाली तथा व्यक्ति स्वयं लाई सक्षम बनाउँदै श्रवण स्वास्थ्य सुधारका लागि ठोस कदम चाल्न प्रेरित गर्ने लक्ष्य लिइएको छ ।

विश्वव्यापी रूपमा बढ्दो चुनौती सुनाई समस्याहरू आजको दिनमा एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्या बन्दै गइरहेको छ । डेढ अर्बभन्दा बढी मानिस विभिन्न प्रकारका श्रवण समस्याबाट प्रभावित छन्, जसमा ८० प्रतिशत भन्दा बढी निम्न र मध्यम आय भएका देशहरूमा बस्छन् ।

दक्षिण पूर्वी एसियामा मात्र करिब ४० करोड मानिस श्रवण समस्याबाट प्रभावित छन् । यदि हालको प्रवृत्ति जारी रहयो भने, सन् २०५० सम्ममा यो सङ्ख्या ६६ करोड पुग्ने आकलन गरिएको छ ।

श्रवण समस्याका कारण भाषिक विकास, शिक्षा, रोजगारी, मानसिक स्वास्थ्य तथा सामाजिक जीवनमा गम्भीर असर पुग्छ । तर, धेरै जसो कारणहरू रोकथाम गर्न सकिने खालका छन् । उचित उपचार तथा प्रभावकारी समाधानहरू उपलब्ध भए पनि, विश्व भर ८० प्रतिशत भन्दा बढी श्रवण सेवाका आवश्यकताहरू पूरा भएका छैनन्।

नेपाल सहित दक्षिण पूर्वी एसियाली राष्ट्रहरूमा प्रगति 

साइमा वाजेदका अनुसार, दक्षिण पूर्वी एसियाली देशहरूमा श्रवण सेवा सम्बन्धी नीति तथा कार्यक्रमहरूलाई सुधार गर्ने प्रयासहरू भइरहेको छ ।

नेपाल, बङ्गला देश र म्यानमार ले डब्लूएचओका उपकरण प्रयोग गरी श्रवण सेवाको अवस्थाका बारेमा मूल्याङ्कन गरि सकेका छन् । म्यानमार ले श्रवण सेवालाई आँखा, वृद्ध स्वास्थ्य तथा मानसिक स्वास्थ्य सेवा सँग समाहित गरेको छ ।

भुटान ले बालबालिकाका लागि निःशुल्क श्रवण परीक्षण तथा हियरिङ एड सेवा प्रदान गरिरहेको छ । इन्डोनेसिया ले विद्यालयहरूमा श्रवण तथा दृष्टि परीक्षण कार्यक्रम सुरु गरेको छ । भारतमा सहायक उपकरणसम्बन्धी तालिमको परीक्षण चरणमा छ ।

सबैका लागि श्रवण सेवालाई प्राथमिकता दिने आह्वान 

डब्ल्यूएचओ क्षेत्रीय निर्देशक वाजेदले सरकार, स्वास्थ्यकर्मी, नागरिक समाज र समुदायका सबै पक्षलाई श्रवण स्वास्थ्य लाई प्राथमिकता दिन आह्वान गरेकी छिन ।

‘हामी सबै मिलेर श्रवण सेवालाई सबैको पहुा‘चमा पुर्याउन सक्छौं’, वाजेदले भनिन–‘ कान तथा श्रवण सेवामा लगानी गर्नु, चेतना अभिवृद्धि गर्नु र यस सँग जोडिएको कलङ्क हटाउनु अहिलेको आवश्यकता हो ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!