डाक्टर आत्महत्या प्रयास प्रकरणः धुलिखेल अस्पतालका चार डाक्टर लाई चिकित्सकीय काम कारबाहीबाट अलग हुन मेडिकल काउन्सिलको आदेश

मेडिकल काउन्सिलले मानसिक विभागका प्रमुख डा. अजय रिसाल, डा. दीपक कुवर, डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई चिकित्सकीय काम कारबाहीबाट सात दिन सम्म अलग रहन निर्देशन दिएको छ ।


काठमाडौं– नेपाल मेडिकल काउन्सिलले धुलिखेल अस्पताल, काभ्रेमा कार्यरत चार जना चिकित्सकलाई चिकित्सकीय काम कारबाहीबाट अस्थायी रूपमा अलग हुन निर्देशन दिएको छ । काउन्सिलको निर्णय अनुसार, उनीहरूलाई अनुसन्धानका लागि उपस्थित भई बयान दिन पनि सूचित गरिएको छ।

काठमाडौं विश्वविद्यालय स्रोतको अनुसार धुलिखेल अस्पतालमा एमडी साइकियाट्र्री विषय अध्ययन रत एक डाक्टरले आत्महत्याको प्रयास गरेको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि मेडिकल काउन्सिलमा यस सम्बन्धमा उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा काउन्सिलले स्थलगत छानबिन टोली खटाएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा प्राप्त प्रमाणहरू, विशेष गरी अडियो रेकर्डको विश्लेषण पछि काउन्सिलले मानसिक विभागीय प्रमुख डा. अजय रिसाल (नेमेका दर्ता नं. ५७७८), डा. दीपक कुवर (नेमेका दर्ता नं. ५५७४), डा. वर्षा श्रेष्ठ (नेमेका दर्ता नं. १९२०२) र डा. रिका रिजाल (नेमेका दर्ता नं. २०८२४) लाई चिकित्सकीय काम कारबाहीबाट सात दिन सम्म अलग रहन निर्देशन दिएको हो ।

नेपाल मेडिकल काउन्सिलले जारी गरेको निर्देशन अनुसार, सम्बन्धित चिकित्सकहरूलाई पत्र वा इमेल प्राप्त भएको मितिले तीन दिन भित्र काउन्सिलमा उपस्थित भई बयान दिन समेत अनुरोध गरिएको छ । काउन्सिलमा उपस्थित नभएमा कानुनी प्रक्रिया अनुसार थप कारबाही अघि बढाइने चेतावनी समेत दिइएको छ ।

काउन्सिलको निर्णय अनुसार, धुलिखेल अस्पतालका मानसिक रोग विभागका प्रमुख तथा फ्‍याकल्टी सदस्यहरूलाई तत्काल लागू हुने गरी चिकित्सकीय कार्य नगर्न/नगराउन अस्पताल प्रशासनलाई सूचित गरिएको छ ।

साथै, यस बारे काठमाडौं विश्वविद्यालयका उपकुलपति, मेडिकल साइन्सेजका डीन तथा धुलिखेल अस्पताल प्रशासनलाई समेत जानकारी पत्र मार्फत गराइएको छ ।

यो प्रकरणले चिकित्सा शिक्षामा मानसिक स्वास्थ्यका विद्यार्थीहरूको अवस्था तथा शैक्षिक संस्थामा हुने व्यवहारका विषयमा गम्भीर प्रश्न उठाएको छ । घटनाको सत्य तथ्य बाहिर आए पछि मात्र थप निर्णय गरिने मेडिकल काउन्सिल स्रोतले जनाएको छ ।

के भएको थियो काउन्सिलको पूर्ण बैठकमा ? 

फागुन १२ गतेको काउन्सिलको पूर्ण बैठकमा धुलिखेल अस्पतालमा डाक्टर आत्महत्या प्रयास को घटना बारे छलफल गर्ने कुनै एजेन्डा नै थिएन । तर गत फागुन ८ गते नै काउन्सिलका सदस्य डा.हुलास अग्रवाल ले धुलिखेल अस्पतालको कुरा लाई मुख्य एजेन्डाको छलफल गर्न माग गर्दै सो मुद्दा लाई एजेन्डाको रुपमा दर्ता गराएका थिए । जसमा डा.कुन्जाङ्ग सेर्पाले समेत समर्थन गरेका थिए ।

पूर्ण बैठक (१२ फागुन) छलफलमा केही निर्णय नगर्ने मानसिकता देखिए पछि, उपस्थित एक चिकित्सकले यस वारे ठोस निर्णय नभए आफू अनसन बस्ने समेत चेतावनी दिएका थिए । त्यस पछि छलफल भएर निर्णय त भयो तर खेस्रा मा फरक कुरा आए पछि ४ जना सदस्यले नोट अफ डिसेन्ट समेत लेखेका थिए । र तत्काल सच्चिएर निर्णय लेख्नु पर्ने कुरा समेत उठाएका थिए । अन्तमा बाध्य भएर बैठकले धुलिखेलका ४ चिकित्सक लाई निलम्बन गर्ने र सोधपुछको लागि बोलाउने निर्णय गरेको हो ।

काउन्सिलको यो अन्तिम निर्णय होइन  

काउन्सिल स्रोतको अनुसार हाल निलम्बन गरिएको भनिएको काउन्सिलको छानविन नसकुन्जेल सम्मको लागि मात्र हो । काउन्सिलको छानविन सकिए पछि व्यावसायिक आचरण समिति र वर्क प्लेस हैरसमेन्ट उपसमितिको सुझाव बमोजिम काउन्सिलले थप सजाय निर्धारण गर्न सक्ने छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!