वीरगन्जमा चार दिने हाड जोर्नी सम्मेलन ‘अर्थोकोन २०२५’ सुरु

वीरगन्ज – वीरगन्जमा पहिलो पटक चार दिवसीय हाड जोर्नी सम्मेलन ‘अर्थोकोन २०२५’ सुरु भएको छ। नेपाल अर्थोपेडिक संघको आयोजनामा बुधवारदेखि सुरु भएको यस सम्मेलनमा देशभरिका करिब ५०० हाड जोर्नी विशेषज्ञ तथा शल्य चिकित्सकहरूको सहभागिता रहने बताइएको छ।
सम्मेलनको पहिलो दिन सूर्य अस्पताल, वीरगन्जमा ‘प्रि-कन्फरेन्स वर्कसप’ सम्पन्न भएको छ। नयाँ प्रविधिहरूको प्रयोगद्वारा हुने शल्यक्रियाबारे चिकित्सकहरूलाई जानकारी गराउने उद्देश्यले कार्यशाला को आयोजना गरिएको सम्मेलनका संयोजक डा. सरोज सिंहले बताए। उक्त कार्यक्रममा नेपाल अर्थोपेडिक संघका महासचिव डा. बिजेन्द्र अधिकारीले प्रशिक्षण दिएका थिए भने संघका अध्यक्ष प्रा. डा. अर्जुन लामिछाने, पूर्व अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा. रमेश प्रसाद सिंह, साथै अस्पतालका सञ्चालक डा. सरोज सिंहको पनि सहभागिता रहेको थियो।
बिहीबारदेखि वीरगञ्जको क्लार्क रिसोर्टमा मुख्य गोष्ठीको आयोजना हुनेछ, जसमा स्वदेश तथा विदेशका चिकित्सकहरूको समेत सहभागिता रहनेछ। सम्मेलनका क्रममा हाड जोर्नी चिकित्सा क्षेत्रमा हासिल गरिएका अन्तर्राष्ट्रिय उपलब्धिहरू, नयाँ अनुसन्धान तथा आधुनिक प्रविधिहरूका विषयमा जानकारी आदानप्रदान गरिने संयोजक सिंहले जनाएका छन्।
सम्मेलनको अन्तिम दिन, अर्थात् मार्च १ मा पत्रकार सम्मेलन गरी कार्यक्रमको उपलब्धि सार्वजनिक गरिनेछ। साथै, स्वदेशी तथा विदेशी विशेषज्ञहरू बीच अनुभव आदानप्रदान गर्न विशेष अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिनेछ।
नेपाल अर्थोपेडिक संघले आफ्नो वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष विभिन्न स्थानमा गोष्ठी तथा कार्यशालाहरू सञ्चालन गर्दै आएको छ। यस वर्ष वीरगन्जमा आयोजना गरिएको ‘अर्थोकोन २०२५’ हाड जोर्नी चिकित्सा क्षेत्रमा नवीनतम प्रविधिहरूको उपयोग र ज्ञान हस्तान्तरणमा महत्वपूर्ण उपलब्धि साबित हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस