स्वास्थ्य सचिव पदमा कसको सम्भावना बलियो ?
‘सचिव चयनको प्रक्रिया निष्पक्ष वा राजनीतिक भागबन्डाले नै अन्ततः निर्णायक भूमिका खेल्छ ?’

स्वास्थ्य मन्त्रालयमा नया स्वास्थ्य सचिव चयनको प्रतिस्पर्धा चुलिएको छ । डा. रोशन पोखरेल अवकाश भएपछि सचिव पद रिक्त भएको हो । अब सो पदका लागि मन्त्रालयका १२ औ तहका तीन अतिरिक्त सचिव मध्ये एक जना चयन हुनेछन् ।
कसको सम्भावना कति बलियो?
हाल स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव पदमा डा. विकास देवकोटा, डा. संगीता कौशल मिश्र र डा. टंक बाराकोटी रहेका छन् । यी तीनै जना सचिव पदका बलियो उम्मेदवार मानिएका छन् ।
डा. विकास देवकोटा हाल स्वास्थ्य सेवा विभागको महा निर्देशकका रूपमा कार्यरत छन् भने, डा. संगीता कौशल मिश्र र डा. टंक बाराकोटी मन्त्रालयमै कार्यरत छन् । डा. संगीता २०७९ असार २३ गते १२ औ तहमा बढुवा भएकी थिइन् । डा. विकास र डा. टंक भने २०७९ चैत १३ गते मात्र १२ औ तहमा बढुवा भएका थिए ।
राजनीतिक समीकरणको प्रभाव
सचिव नियुक्तिको प्रक्रिया प्राविधिक आधारमा मात्र सीमित न रही, राजनीतिक समीकरणबाट पनि प्रभावित हुने देखिएको छ । मन्त्रालय भित्र चर्चा चले अनुसार, स्वास्थ्य सचिवको नियुक्तिमा राजनीतिक दलहरूको प्रभाव स्पष्ट देखिन्छ ।
उच्च निजामती स्रोतको दाबी अनुसार स्वास्थ्य मन्त्री प्रदीप पौडेल डा. विकास देवकोटालाई सचिव बनाउन चाहन्छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले डा. टंक बाराकोटीलाई अघि बढाउने प्रयास गरिरहेका छन् ।
जसले जे भने पनि गठबन्धन सरकारमा पहिले देखी चल्दै आएको भागबन्डा को राजनीति अनुसार स्वास्थ्य मन्त्रीले सचिव रोज्न पाउनु पर्ने तर्क दिँदै स्वास्थ्य मन्त्रालयका केही पदाधिकारीहरू भन्छन्–‘स्वास्थ्य मन्त्री प्रदीप पौडेले रोजेका व्यक्ति नै स्वास्थ्य सचिव हुनेमा कुनै भ्रम छैन, यसमा सरकार सञ्चालक र गठबन्धनका अन्य दलले हस्तक्षेप गर्दैन । यसले सत्ता समीकरणमा असर पर्न सक्छ ।’
तर गठबन्धन कै एमाले निकटका स्वास्थ्य मन्त्रालयका केही उच्च पदाधिकारी हरुले नियुक्ति नभइ सक्दा सम्म कुनै निचोड निकाल्नु नहुने जनाउँदै अन्तिम समयमा समेत हाल सम्म सतहमा देखिएको समीकरण परिवर्तन हुन सक्ने सम्भावना लाइ नकार्न नसकिने औँल्याउँछन् ।
यद्यपि, उम्मेदवारहरू आफू कुनै राजनीतिक प्रभावमा नरहेको बताउँदै आएका छन् । तथापि, नियुक्ति प्रक्रियामा सत्ता समीकरणको महत्वपूर्ण भूमिका रहने प्रस्ट देखिन्छ ।
नया सचिवको छनोट कति पारदर्शी ?
स्वास्थ्य मन्त्रालयमा सचिव चयनको प्रक्रिया निष्पक्ष हुन्छ वा राजनीतिक भागबन्डाले नै अन्ततः निर्णायक भूमिका खेल्छ, भन्ने विषयमा सरोकारवालाहरू को चासो बढेको छ ।
योग्यताको आधारमा पारदर्शी निर्णय हुने सम्भावना शून्य प्रायः रहेको स्वास्थ्य मन्त्रालय का उच्च अधिकारीहरूले अनौपचारिक सम्वादमा स्विकार गर्ने गरेका छन् । तर, राजनीतिक समीकरण बलियो हुने हो भने सत्ता गठबन्धनको समीकरण अनुसार नया सचिवको टुङ्गो लाग्ने देखिन्छ ।
अबको एक दुई दिन भित्रै नया स्वास्थ्य सचिवको टुङ्गो लाग्ने भएकोले यस विषयमा मन्त्रालय भित्र व्यापक हलचल देखिएको छ ।
चिया गफमा सचिव नियुक्ति
स्वास्थ्य सेवा विभाग, टेकू र स्वास्थ्य मन्त्रालय भित्र हुने गरेको कर्मचारीहरूको चिया गफमा अहिले स्वास्थ्य सचिव नियुक्ति को कुरा प्रमुखताका साथ छलफल हुने गरेको छ ।
तर अझै पनि चिया गफमा तिन जना मध्ये को सचिव नियुक्त हुने हो भन्ने कुरामा मतैक्य देखिने गरिएको छैन । बहुसंख्यक कर्मचारीहरू आफै को सचिव हुने भन्नेमा अन्योलमा देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस