चरम ठगी, झुठो प्रचार प्रसार र मनोमानी शुल्क रोक्न आइभीएफ सेवा प्रदायक लाई सरकारको निर्देशन

काठमाडौं— स्वास्थ्य मन्त्रालयले मुलुक भरका आइभीएफ (इनभिट्रो फर्टिलाइजेसन) सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूको अनियमितता र मनोमानी रोक्न कडा निर्देशन जारी गरेको छ।
मन्त्रालयले झुटो प्रचार, शुल्कमा मनपरी, मिडियावाजी, र सेवाग्राही ठगी सम्बन्धी गम्भीर गुनासा बढेपछि तत्काल सुधारका लागि कठोर कदम चाल्ने चेतावनी दिएको छ।
स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले जारी गरेको पत्र अनुसार आइभीएफ सेवा प्रदायक संस्थाहरूले निम्न पाँच बुँदामा तत्काल पालना गर्नुपर्नेछ ।
- झुटो प्रचार-प्रसार बन्द गर्नुपर्नेछ : सेवाग्राहीलाई गलत सूचना दिएर ठग्ने काम तत्काल रोक्नुपर्ने मन्त्रालयको कडा निर्देशन छ।
- सेवा शुल्कको पारदर्शिता : प्रत्येक संस्थाले आफ्नो शुल्कको विवरण अनिवार्य रूपमा वेबसाइटमा राख्नुपर्नेछ।
- नयाँ शाखा खोल्न अनुमति आवश्यक : मनपरी रूपमा शाखा खोलेर सेवा सञ्चालन गर्न नपाइने, नयाँ शाखाका लागि पुनः अनुमति लिनुपर्नेछ।
- विपन्न तथा असहाय सेवाग्राहीलाई १०% निःशुल्क सेवा : आर्थिक रूपले कमजोर बिरामीहरूलाई निःशुल्क सेवा दिनुपर्नेछ।
- सेवा प्रतिवेदन अनिवार्य रूपमा पेश गर्नुपर्ने : प्रत्येक चौमासिक (चार महिनामा एक पटक) सेवा विवरण सरकारलाई बुझाउनुपर्नेछ।
स्वास्थ्य मन्त्रालयले यदि यी नियमहरू उल्लंघन गरेमा कडा कारबाही गरिने चेतावनी दिएको छ। अनुगमनका क्रममा नियम विपरीत काम गर्ने पाइएमा अनुमति खारेज देखि कानुनी कारबाही सम्मको कठोर निर्णय लागू गरिनेछ।
यसअघि पनि मन्त्रालयले आइभीएफ सेवामा भइ रहेको अनियमितता बारे गुनासाहरूको अध्ययन गरेको थियो। चर्को शुल्क, भ्रामक प्रचार र सेवाग्राही ठगी जस्ता गम्भीर विषयहरू उठे पछि सरकारले कडाइ गर्न बाध्य भएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस