सरकारको उपेक्षा: चिकित्सक संघद्वारा देशव्यापी आन्दोलनको घोषणा


काठमाडौं– नेपाल चिकित्सक संघले सरकारको उपेक्षा र आफ्ना मागहरू वेवास्ता गरिएका कारण देशव्यापी आन्दोलनको घोषणा गरेको छ।

संघले पटक पटक सरकार समक्ष माग राखे पनि समाधान नआएपछि स्वास्थ्य क्षेत्र प्रभावित हुने गरी चरणबद्ध आन्दोलन गर्न बाध्य भएको जनाएको छ।

‘हामीलाई आन्दोलनको घोषणा गर्न बाध्य पारियो’, नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारी भन्छन्, ‘सरकारलाई हामीले माग सम्बोधन गर्न ४८ घण्टाको समय दिएका थियौं, तर गम्भीर समस्या हरूलाई बेवास्ता गरिएको छ। यस्तो अवस्थामा हामी सँग आन्दोलन बाहेक अर्को विकल्प रहेन।’

संघले आन्दोलनको पहिलो चरणमा फागुन ७ र ८ गते देशभरका स्वास्थ्य संस्थाहरू अगाडि कालो पट्टि बाँधेर कार्यालय समयको पहिलो एक घण्टा धर्ना दिने कार्यक्रम घोषणा गरेको छ।

तर, यदि सरकारले अझै पनि बेवास्ता गरिरह्यो भने, आकस्मिक सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्न संघ बाध्य हुने चेतावनी दिएको छ। यस्तो अवस्थामा देशभरका बिरामीहरू गम्भीर संकटमा पर्ने भएकाले यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने चिकित्सक संघले स्पष्ट पारेको छ।

सरकारको उदासीनता जारी रहे आन्दोलन थप कडा हुने संकेत चिकित्सक संघले दिएको छ, जसले स्वास्थ्य क्षेत्रमा गम्भीर संकट ल्याउने देखिन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!