चिकित्सक संघ को स्वास्थ्य मन्त्रीलाई ४८ घन्टे चेतावनी


काठमाडौँ – नेपाल चिकित्सक संघले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाउँदै चिकित्सा शिक्षा तथा चिकित्सकहरू सँग सम्बन्धित मागहरू तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ। संघले ४८ घण्टाभित्र माग पूरा नभए कडा कदम चाल्ने चेतावनी समेत दिएको छ।

संघका प्रतिनिधिहरूले स्वास्थ्य मन्त्री पौडेललाई बुझाएको ज्ञापनपत्रमा सरकारका शैक्षिक संस्थाहरूमा स्नातकोत्तर (एमडी/एमएस/एमडीएस) सिट संख्या थप गर्ने निर्णय कार्यान्वयन नगरेको प्रति गम्भीर आपत्ति जनाइएको छ। चिकित्सा शिक्षा आयोगको १७औं बैठकले २३१ सिट थप्ने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ भएको संघको आरोप छ।

ज्ञापनपत्रमा राखिएका प्रमुख मागहरूमध्ये केही यस प्रकार छन

  • स्नातकोत्तर (एमडी/एमएस/एमडीएस) सिट संख्या थप्ने निर्णय तत्काल कार्यान्वयन गर्दै लिस्ट सार्वजनिक गर्ने।
  • आवासीय चिकित्सकहरूको निर्वाह भत्ता नेपाल सरकारको आठौँ तह सरह (रु ४८,७३७) उपलब्ध गराउने।
  • अस्पताल विकास समितिअन्तर्गत नयाँ नियुक्ति गर्दा चिकित्सकको शैक्षिक योग्यता अनुसार नवौं वा दशौं तहमा नियुक्ति दिने।
  • इन्टर्न चिकित्सकहरूको भत्ता, कार्य घण्टा, विदा लगायतका विषयहरू वैज्ञानिक एवं श्रम ऐनअनुसार व्यवस्थित गर्ने।
  • चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब भत्तामा एकरूपता ल्याई हजार्ड एलाउन्स उपलब्ध गराउने।
  • चिकित्सा सेवा आयोगको स्थापना र चिकित्सा सेवा ऐनको व्यवस्था गर्ने।

संघले यी मागहरू पूरा गर्न ४८ घण्टाको अल्टिमेटम दिएको छ। माग सम्बोधन नभए संघ कडा कदम चाल्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने असुविधाको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने चेतावनी समेत दिएको छ।

नेपाल चिकित्सक संघले सरकारलाई समस्या समाधान गर्न आग्रह गर्दै, आम नागरिकलाई पर्ने असुविधा प्रति दुःख समेत व्यक्त गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!