चिकित्सकहरू आन्दोलित, माग पूरा नभए आन्दोलन थप सशक्त बनाइने
काठमाडौं – चिकित्सकहरूको हकहितका लागि संघर्षरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति ले आफ्ना माग पूरा गराउन देशभरका चिकित्सकहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।
समितिले जारी गरेको विज्ञप्तिमा विगत ९ दिनदेखि चिकित्सकहरू व्यवसायिक हकहितका लागि आन्दोलनरत रहे पनि सरकार र चिकित्सा शिक्षा आयोग ले कुनै तदारुकता नदेखाएको आरोप लगाइएको छ।
समितिका प्रवक्ता डा. संजय बराल का अनुसार सरकारले बेवास्ता गरेकाले आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने अवस्था आएको छ।
समितिले जारी विज्ञप्तिमा चिकित्सकहरू माथि भएको शोषण तथा आत्मसम्मान माथि प्रहारको विरोध गर्दै आवासीय चिकित्सक, मेडिकल अफिसर तथा इन्टर्न चिकित्सकहरूलाई पठनपाठन र सेवा बहिष्कार गरी काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन अपिल गरिएको छ।
साथै, विशेषज्ञ चिकित्सक, चिकित्सक संघ-संगठन तथा आम नागरिकलाई पनि ऐक्यबद्धता जनाउन आग्रह गरिएको छ।
मुख्य मागहरू
- स्वास्थ्य तथा शिक्षा मन्त्रीहरूद्वारा गरिएको चिकित्सक माथिको अपमानजनक सिफारिस तत्काल खारेज गरिनु पर्ने।
- MD, MS, MDS, DM, MCH रेजिडेन्ट तथा इन्टर्नहरूलाई सरकारी सेवा सरह पारिश्रमिक उपलब्ध गराउनु पर्ने।
- रेजिडेन्सी ड्युटी वैज्ञानिक बनाइ ८० घण्टा साप्ताहिक ड्युटी, प्रत्येक २४ घण्टाको ड्युटी पछि आरामको समय, प्रसूति बिदा, वार्षिक बिदा तथा साप्ताहिक बिदाको व्यवस्था गरिनु पर्ने।
- डा. टंक बरकोटी कार्यदलको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गरिनु पर्ने।
संघर्ष समितिले बिहीबार, माघ २४ गते को आन्दोलन कार्यक्रमहरू समेत सार्वजनिक गरेको छ।
यस अन्तर्गत देश भरका मेडिकल कलेज तथा अस्पताल मा चिकित्सकहरू द्वारा सेवा बहिष्कार गरिने, भक्तपुरको चिकित्सा शिक्षा आयोगमा बिहान ११ बजे सेतो एप्रोन सहित धर्ना र स्वास्थ्य संस्थाहरूमा ब्यानर र प्लेकार्ड सहित प्रदर्शन गरिने जनाएको छ ।
समितिले आन्दोलनलाई पूर्ण रूपमा शान्तिपूर्ण बनाइने उल्लेख गर्दै, कुनै पनि चिकित्सकमाथि प्रतिशोध पूर्ण कारबाही भए अस्वीकार्य हुने चेतावनी समेत दिएको छ। यदि माग पूरा नभए संघर्षलाई अझ कडा बनाइने विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस