कार्यस्थल दुर्व्यवहार प्रति बेवास्ताः मेडिकल काउन्सिलको भूमिका माथि आलोचना
काठमाडौं – कार्यस्थलमा हुने दुर्व्यवहारका गम्भीर मुद्दाहरूमा बेवास्ता गरेको भन्दै नेपाल मेडिकल काउन्सिल (एनएमसी) कडा आलोचनाको घेरामा परेको छ ।
चिकित्सा क्षेत्रमा कार्यरत डाक्टरहरूले आफ्नो कार्यस्थलमा मानसिक र शारीरिक दुर्व्यवहारको सामना गर्नु परेको बताउँदै काउन्सिल प्रति गम्भीर आपत्ति जनाएका छन् ।
कार्यस्थल दुर्व्यवहार एक गम्भीर समस्या हो, जसले मानसिक स्वास्थ्यमा ठूलो असर पुर्याउँछ । यो दुर्व्यवहार प्रशासन, सहकर्मी, वरिष्ठ, वा काम गर्ने कुनै पनि व्यक्तिबाट हुन सक्छ ।
काउन्सिल सदस्यहरू मध्ये केहीले बारम्बार यस समस्या प्रति ध्यानाकर्षण गराउँदै आए पनि एमएमसी ले यो मुद्दालाई प्राथमिकतामा नराखेको आरोप लागेको छ ।
काउन्सिल सदस्य डा. कुञ्जाङ शेर्पाले सन २०२२ मै कार्यस्थल दुर्व्यवहार रोक्न काउन्सिलको स्पष्ट भूमिका हुनुपर्ने कुरा उठाएका थिए । त्यस्तै, डा. हुलास अग्रवालले पनि सन २०२२ को मे महिना देखि नै आवासीय चिकित्सक माथि हुने दुर्व्यवहार रोक्न काउन्सिलले पहल गर्नुपर्ने भन्दै पत्राचार गरेका थिए ।
हालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक आवासीय चिकित्सकले आत्महत्या गरेको घटनाले यो विषयलाई थप गम्भीर बनाएको छ ।
त्यहाँ कार्यरत केही चिकित्सकहरू का अनुसार सामाजिक सञ्जालमा सार्वजनिक संवादले कार्यस्थल दुर्व्यवहारलाई आत्महत्याको मुख्य कारणका रूपमा देखाएको छ । तर, काउन्सिलले यस विषयमा हालसम्म कुनै ठोस प्रतिक्रिया दिएको छैन ।
डा. अग्रवालले काउन्सिललाई कार्यस्थल दुर्व्यवहारका घटनाहरू छानबिन गर्न र समाधानका लागि समिति गठन गर्न सुझाव दिएका छन् ।
उनले पत्राचारमा भनेका छन्, ‘यदि एनएमसी ले अब पनि यसलाई प्राथमिकता दिएन भने, आगामी बैठकहरूमा अन्य एजेन्डामा छलफल गर्न म असमर्थ हुने छु ।’
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्की र काउन्सिल सदस्य डा. विक्रान्त ढकालले पनि डा. अग्रवालको प्रस्तावलाई समर्थन गरेका छन् ।
चिकित्सक संघका अध्यक्ष डा. कार्कीले नेपालहेल्थप्रेससँग भने–‘कार्यस्थलमा दुर्व्यवहार बढ्दो देखिएको छ । मेडिकल काउन्सिलले यसको स्थायी समाधान तर्फ पहल गरेन भने यसले गम्भीर समस्या निम्त्याउँछ ।’
डा.कार्कीले दुर्व्यवहार मुक्त कार्य क्षेत्र हुनु पर्ने चिकित्सक सङ्घको ‘स्ट्र्रग भ्वाइस’, रहेको र यो सङ्घको एउटा महत्वपूर्ण एजेन्डा समेत रहेको बताए ।
कार्य स्थलमा बढ्दो दुर्व्यवहार र काउन्सिलको उदासीनता विषयक नेपालहेल्थप्रेसको प्रश्नमा रजिस्टार डा.सतिस देवले कार्यक्षेत्रमा दुर्व्यवहार प्रति काउन्सिलको ध्यानाकर्षण भएको र आवश्यक प्रकृया अगाडी बढाइने बताए ।
डाक्टरहरूको सुरक्षा र सकारात्मक कार्यस्थल वातावरण निर्माणका लागि काउन्सिलले तुरुन्त कदम चाल्नुपर्ने माग भइरहेको छ । यदि समयमा समस्या समाधान नभए, कार्यस्थल दुर्व्यवहारले चिकित्सा क्षेत्रलाई थप अस्थिर बनाउने चेतावनी दिइएको छ । यस पटक काउन्सिलको निर्णयले चिकित्सा क्षेत्रमा सुधार ल्याउन कति प्रभावकारी भूमिका खेल्छ भन्ने प्रतीक्षामा छ ।
प्रतिक्रिया दिनुहोस