बिरामी रेफरमा जिम्मेवारी स्पष्ट पार्न स्वास्थ्यकाे निर्देशिका जारी
काठमाडौं – स्वास्थ्य मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामीलाई अर्को अस्पतालमा रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने उद्देश्यसहित एकीकृत बिरामी प्रेषण निर्देशिका जारी गरेको छ। यस निर्देशिकाले बिरामीको जीवन रक्षा सुनिश्चित गर्दै अस्पतालहरूको चाप व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।
निर्देशिका अनुसार, बिरामीलाई अर्को अस्पतालमा रेफर गर्नु पहिलो अस्पतालले समन्वय गरी सम्बन्धित अस्पतालमा शैय्या, सेवा, र आवश्यक स्रोत साधनको उपलब्धताबारे पक्का गर्नु पर्नेछ। बिरामीले अर्को अस्पतालमा भर्ना नहुन्जेल सम्मको जिम्मेवारी पहिलो अस्पतालकै हुनेछ।
सुरक्षित रिफरल प्रणालीको परिकल्पना
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निर्देशिकाको उद्देश्य बिरामीको जीवन रक्षा र अस्पतालहरूको चाप व्यवस्थापन रहेको बताए। ‘बिरामीले उपचारमा ढिलाइ हुन नपाओस् भन्ने हाम्रो मुख्य प्रयास हो। यस सगै, अस्पतालहरूमा चाप व्यवस्थापन गर्न पनि यो निर्देशिकाले भूमिका खेल्नेछ’,मन्त्री पौडेलले भने।
गत साउन २७ गते मन्त्री पौडेलले सार्वजनिक गरेको योजना र प्राथमिकता अन्तर्गत, आकस्मिक कक्षमा बिना ढिलाइ उपचार सुरु गर्नुपर्ने र सम्भव नभएको अवस्थामा सुरक्षित रेफरको दायित्व सम्बन्धित स्वास्थ्य संस्थाको हुने कुरा उल्लेख गरिएको थियो। यसै बुँदालाई आधार मानेर निर्देशिका तयार पारिएको हो।
रेफर प्रक्रियामा पारदर्शिता र समन्वय
- निर्देशिकाले रेफर प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्य राखेको छ।
- बिरामीको परीक्षण, उपचारको अवस्था, र अन्य विवरण पहिलो अस्पतालले नै सम्बन्धित अर्को अस्पताललाई साझा गर्नु पर्नेछ।
- परीक्षण दोहोर्याउनु नपर्ने गरी विवरणको प्रबन्ध गरिनेछ।
- स्थानीय, प्रादेशिक, र सङ्घीय तहमा अनिवार्य रेफरल एकाइ स्थापना गरिनेछ।
बिरामीको अधिकार र अस्पतालको दायित्व
निर्देशिकाले बिरामीलाई आफू उपचार गराउन जाने स्थान रोज्न स्वतन्त्रता दिएको छ। तर, अस्पतालको तर्फबाट अनावश्यक रेफरल प्रक्रियालाई नियन्त्रण गर्ने व्यवस्था गरिएको छ।
चाप व्यवस्थापनमा सहयोग
सरकारी अस्पतालहरूको बढ्दो चाप कम गर्न आवश्यकता अनुसार मात्र बिरामी रेफर गर्नुपर्ने प्रावधान निर्देशिकाले स्पष्ट पारेको छ। स्थानीय तह, प्रदेश, र सङ्घीय स्तरमा स्थापना हुने रिफरल एकाइले स्वास्थ्य संस्थाको गुणस्तर र रेफर प्रक्रियामा निगरानी राख्ने अपेक्षा गरिएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्देशिकाले बिरामीको उपचार प्रभावकारी बनाउन र स्वास्थ्य सेवामा एकरूपता ल्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस