औषधि प्रतिरोधी क्षयरोग नियन्त्रणका लागि लालबन्दीमा केन्द्र स्थापना
लालबन्दी – सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा औषधि प्रतिरोधी क्षयरोग उपचार केन्द्रको उद्घाटन भएको छ। नगर अस्पतालमा लालबन्दीमा आयोजित कार्यक्रम मार्फत राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ र लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले संयुक्त रूपमा केन्द्रको उद्घाटन गरे।
कार्यक्रममा बोल्दै डा. श्रेष्ठले मधेश प्रदेशमा क्षयरोगका बिरामीहरूको सङ्ख्या अन्य प्रदेश भन्दा बढी रहेकाले यस्ता उपचार केन्द्रहरूको आवश्यकता अझै बढी रहेको बताए । उनले औषधि प्रतिरोधी क्षयरोग (Drug-resistant tuberculosis) का बिरामीले सहज रूपमा सेवा पाउने र क्षयरोग मुक्त नेपाल बनाउने अभियानमा यसले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
लालबन्दी नगर अस्पतालका प्रमुख डा. चन्दन चौधरीका अनुसार यस अघि औषधि प्रतिरोधी बिरामीलाई जनकपुर वा अन्य ठूला शहर पठाउनु पर्ने बाध्यता थियो। नयाँ केन्द्र स्थापना भएसँगै बिरामीले स्थानीय स्तरमै उपचार पाउनेछन्। अस्पतालले औषधि प्रतिरोधी क्षयरोगको उपचारका लागि तालिम प्राप्त एक जना मेडिकल अफिसर र दुई जना सिनियर अहेबलाई परिचालन गरेको छ।
मधेश प्रदेशमा हाल पाँच वटा औषधि प्रतिरोधी क्षयरोग उपचार केन्द्र सञ्चालनमा रहेका छन्। यसै बीच, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार देशका अन्य स्थानमा पनि यस्ता केन्द्रहरूको विस्तार भइरहेको छ।
क्षयरोग नियन्त्रण र उपचारमा समुदायको सहभागिता र जन चेतना बढाउन आवश्यक रहेको औँल्याउँदै डा. श्रेष्ठले स्वास्थ्य कर्मीको निगरानीमा औषधि सेवन गर्न बिरामीहरूलाई प्रोत्साहित गर्नुपर्ने बताए। ‘सन् २०३५ सम्म नेपाललाई क्षयरोग मुक्त बनाउने लक्ष्य राखिएको छ,‘ उनले भने।
यस प्रकारका केन्द्रहरूले उपचार सँगै सचेतन मूलक कार्यक्रमहरू सञ्चालन गरी क्षयरोग नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस