नेपाल हेल्थ कन्क्लेभ २०२४
१० बुँदे प्राथमिकता सार्वजनिक गर्दै नेपाल स्वास्थ्य सम्मेलन २०२४ सम्पन्न

काठमाडौं– स्वास्थ्य मन्त्रालयको आयोजनामा दुई दिने नेपाल स्वास्थ्य सम्मेलन २०२४ शुक्रवार सम्पन्न भएको छ । सम्मेलनले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन महत्वपूर्ण विषयहरूमा चर्चा गर्दै विशेष गरी प्रवासी नेपाली को सहभागिता सुनिश्चित गर्न तथा व्यवस्थित बनाउने उपायहरूको खोजी गरेको छ ।
कार्यक्रमले स्वास्थ्य क्षेत्रमा प्रवासी नेपालीहरूको ज्ञान, सीप, र लगानीलाई अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै सबै सरोकारवाला हरूलाई सहकार्यका लागि आह्वान गरेको छ ।
स्वास्थ्य मन्त्रालयको अनुसार सम्मेलनमा अनलाइन को माध्यमले ८० हजार व्यक्ति सम्मको सहभागिता देखिएको थियो भने भौतिक रूपमा करिब ३ सय ५० जना सहभागिता जनाएका थिए । सम्मेलनमा विदेशबाट आएका करिब ७५ जना स्वास्थ्य कर्मी सहभागी थिए ।
यो कार्यक्रमले स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि महत्वपूर्ण सन्देश प्रदान गर्दै १० बुँदे प्राथमिकता योजना समेत सार्वजनिक गरेको छ ।
१० बुँदे प्राथमिकता योजना
- अनुसन्धान, तथ्याङ्क विश्लेषण र प्रवासी सहभागिता इकाई स्थापनाः स्वास्थ्य मन्त्रालय अन्तर्गत यो इकाईलाई प्रवासी परामर्श दातृ समूहले सहयोग गर्ने ।
- प्रवासी गतिविधिलाई राष्ट्रिय वार्षिक समीक्षामा समावेश गर्ने ।
- आइडिया/प्रोजेक्ट बैक स्थापनाः स्वास्थ्य क्षेत्रको आवश्यकता सम्बोधन गर्दै स्टार्ट अप र लगानी प्रवर्द्धनका लागि केन्द्रीय प्लेटफर्मको विकास ।
- प्रवासी नेपालीको म्यापिङ र तथ्याङ्क अद्यावधिक गर्ने ।
- निरन्तर शिक्षण र क्षमता विकासका लागि भर्चुअल ज्ञान प्लेटफर्म निर्माण ।
- स्वास्थ्य क्षेत्रका लागि प्राथमिकता प्राप्त र कम प्रतिनिधित्व भएका मुद्दाहरूमा प्रवासी अनुसन्धान अनुदानको व्यवस्था ।
- श्रम प्रवासीको स्वास्थ्य समस्यामा प्रवासी नेपालीको भूमिका खोज्ने ।
- प्रवासी सहभागिता बाट नयाँ डायग्नोस्टिक र क्रिटिकल केयर सेवाको परीक्षण ।
- प्रवासी नेपालीका लागि ग्रामीण स्वास्थ्य फेलोसिप कार्यक्रमको विकास र सञ्चालन ।
- स्वास्थ्य क्षेत्रमा लगानीका लागि आवश्यक नीति गत र कानुनी व्यवस्था पहिचान गर्न नीति विश्लेषण।
प्रतिक्रिया दिनुहोस