वातावरणीय, व्यवसाय जन्य स्वास्थ्य र सुरक्षा

‘व्यवसाय जन्य दुर्घटना र रोग पीडितका अधिकार सुनिश्चित गर्नु आवश्यक’


काठमाडौं– सरकारले व्यवसाय जन्य दुर्घटना र रोग पीडितका अधिकार पुर्ण र व्यवहारिक रूपमा सुनिश्चित गर्नु अत्यावश्यक रहेको निर्क्योल निकाल्दै वातावरणीय, व्यवसाय जन्य स्वास्थ्य र सुरक्षा सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड), नेपाल ट्रेड युनियन महासङ्ग (जिफन्ट) र नेपाल ट्रेड युनियन काँग्रेस (एनटियुसी) को संयुक्त आयोजनामा सम्पन्न कार्यशालामा श्रमिकहरूको स्वास्थ्य र सुरक्षा साग सम्बन्धित चुनौती, कानुनी व्यवस्थाको कार्यान्वयन, र आगामी रणनीतिहरूको विकासमा केन्द्रित छलफल गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले श्रमिकको स्वास्थ्य र सुरक्षाका लागि नीति, योजना, र ऐनको प्रभावकारी कार्यान्वयनको महत्व उल्लेख गर्दै सरकार यस बारे जिम्मेवार रहेको बताए । श्रम सचिव निरौलाले वातावरणीय, व्यवसाय जन्य स्वास्थ्य र सुरक्षा विषय श्रमिकको जीवन साग प्रत्यक्ष जोडिएको भन्दै यसका नियमहरूको कडाइका साथ अनुगमन गर्ने प्रतिबद्धता समेत जनाए।

कार्यशालामा विभिन्न विषयगत प्रस्तुति दिइयो । पहिलो दिनमा स्वास्थ्य, वातावरण, र कानुनी प्रावधानमा केन्द्रित चार कार्यपत्र प्रस्तुत गरियो । दोस्रो दिन सहभागीहरूले यी प्रस्तुति र निष्कर्षका आधारमा ‘राष्ट्रिय वातावरणीय, व्यवसाय जन्य स्वास्थ्य र सुरक्षा रणनीति र पञ्चवर्षीय कार्य योजना’ निर्माणमा सहकार्य गरे ।

कार्यक्रममा वातावरणीय, स्वास्थ्य, श्रम कानुन र व्यवसाय जन्य स्वास्थ्यका चार फरक पक्षमा आधारित प्रस्तुतीकरण गरियो । यस अन्तर्गत काठमाडौं मेडिकल कलेजका प्रा. डा. सुनिल कुमार जोशी, वातावरण वैज्ञानिक राम चरित्र साह, श्रम सम्बन्ध परिषद् का प्रमुख जनक चौधरी, सञ्जय दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यशालाको दोस्रो दिनमा, प्रस्तुत निष्कर्ष र सहभागीहरूको सहकार्यमा ‘पञ्चवर्षीय राष्ट्रिय कार्य योजना’ समेत तयार पारियो । कार्यशालाले वातावरणीय, व्यवसाय जन्य स्वास्थ्य र सुरक्षा (Environental, Occupational Health and Safety, EOHS) सम्बन्धी जन चेतना अभिवृद्धि, रणनीति निर्माण, र पीडितका लागि न्याय सुनिश्चित गर्न सुझाव दिने लक्ष्य राखेको थियो ।

कार्यक्रमको समापनमा आयोजक सिफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहले श्रमिकहरूको स्वास्थ्य र सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकार सग आग्रह गरे । उनले कार्यशालाबाट तयार पारिएका रणनीतिहरूलाई सरकारी योजना र नीतिमा समावेश गर्न निरन्तर पैरवी गरिने प्रतिबद्धता समेत व्यक्त गरे।

दक्षिण एसियाली क्षेत्रीय हब, ओएसएचई इन्टरनेसनल र एएनआरओईभीको सहयोगमा आयोजित कार्यशालामा ३५ भन्दा बढी सरकारी निकाय, ट्रेड युनियन, गैरसरकारी संस्था र निजी क्षेत्रका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । सबै सहभागीहरूले यस कार्यक्रमबाट अर्जित ज्ञान र सीपलाई व्यवहारमा उतार्न प्रतिबद्धता जनाएका थिए ।

कार्यशालाले प्रस्तुत गरेको नीति गत र प्राविधिक सिफारिसहरू

  • राष्ट्रिय स्तरमा व्यवसाय जन्य दुर्घटना र रोगहरूको एकीकृत तथ्याङ्क प्रणाली निर्माण
  • श्रमिकको स्वास्थ्य र सुरक्षाका लागि तीनै तहका सरकार, ट्रेड युनियन, र नागरिक संस्थाहरूको सुदृढीकरण
  • वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को प्रभावकारी कार्यान्वयन।
  • व्यवसाय जन्य रोगहरूको विस्तृत सूची तयार गरी राजपत्रमा प्रकाशन।
  • श्रमिकहरूलाई सचेतना कार्यक्रम सञ्चालन र सुरक्षा प्रावधान पालना नगर्ने उद्योगहरूलाई कडा कारबाही ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!